लुम्बिनी मुख्यमन्त्रीको कार्यालय सरेपछि देउखुरीमा बढ्यो चहलपहल

हिमाल प्रेस २२ मंसिर २०७९ १९:१८
6
SHARES
लुम्बिनी मुख्यमन्त्रीको कार्यालय सरेपछि देउखुरीमा बढ्यो चहलपहल

दाङ– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय सरेपछि स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा चहलपहल बढेको छ। स्थानीयहरू स्वतस्फुर्त आ-आफ्ना घर वरिपरि, बाटोघाटो सरसफाइमा सक्रिय भएर लागेको राप्ती गाउँपालिका-३ का वडा अध्यक्ष उमेश अधिकारीले बताए।

‘मुख्यमन्त्रीको कार्यालय नै मेरो वडामा रहने भएकाले यो वडालाई चिटिक्कै पार्ने काम भइरहेको छ,’ अध्यक्ष अधिकारीले भने। ‘मुख्यमन्त्रीको कार्यालय सरेसँगै यहाँ सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति देखिएको छ,’ स्थानीय किशोर घर्तीले भने, ‘सवारी साधनको आवगमन बाक्लो भएको छ।’

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको कार्यकालमा दुई वर्षअघि प्रदेशसभाले यस क्षेत्रलाई प्रदेशको राजधानी तोकेको थियो। यसअघि यहाँ ३० वर्षदेखि प्राविधिक शिक्षालय अध्यापन भइरहेकोमा हाल शिक्षालयलाई करिब १४ किलोमिटर दक्षिण राप्ती पारी गढवा गाउँपालिकामा स्थान्तरण गरिएको छ।

यस्तै शिक्षालय भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय व्यवस्थापनको काम भइरहेको प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारुले बताए।

विद्यार्थीलाई कुनै समस्या नहुने गरी काम गरिरहेको उनको भनाइ छ। यहाँ साना ठूला गरी २४ वटा भवन छन्। प्रदेशसभा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

प्रदेशसभा भवनमा हाल रंगरोगनलगायतका काम भइरहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए। उनका अनुसार प्रदेशका सबै मन्त्रालयलाई पुग्ने गरी पूर्वाधारको व्यस्थापन भइरहेको छ।

यसअघि दुई वटा मन्त्रालय पहिले नै स्थान्तरण भइसकेका थिए भने बाँकी मन्त्रालयको काम बुटवलबाटै भइरहेको थियो। गत सोमबार मध्यराति प्रदेश मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय बुटवलबाट यहाँ सारिएको थियो।

यही मंसिर ४ मा निर्वाचित प्रदेशसभा सांसदहरूको शपथ ग्रहण कार्यक्रम पनि यसै प्रदेशसभा भवनमै गराउने तयारी रहेको मुख्यमन्त्री कुल केसीले जानकारी दिए।

यता नेपाली कांग्रेस र नेकपा एमालेले भने लुम्बिनी प्रदेशको राजधानी तत्कालै दाङमा सार्न हतार गर्न नहुने बताइरहेका छन्। हाल यस प्रदेशको राजधानी बुटवलबाटै अस्थायी रूपमा सञ्‍चालन हुँदै आएको छ।

प्रकाशित: २२ मंसिर २०७९ १९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =