उमेरले छेकेन पढ्ने रहर

हिमाल प्रेस ८ चैत २०८० १६:५०
362
SHARES
उमेरले छेकेन पढ्ने रहर

दाङ- घोराही उपमहानगरपालिका–१५ की सीता खनाल ४४ वर्षकी भइन्। कक्षा पाँच पढ्दापढ्दै उनको बिहे भएपछि पढ्ने रहर अधुरो थियो। रहर पूरा गर्न उनी अहिले घोराही–१८ स्थित श्री माध्यमिक विद्यालय रझेनामा कक्षा ७ मा अध्ययन गरिरहेकी छन्।

‘मलाई पढ्न लेख्न आउँदैनथ्यो। अहिले छोराछोरी सरहका साथी र शिक्षकसँग पढिरहेको छु’, उनले भनिन्,‘शिक्षक, साथी र परिवारको सहयोगले अगाडि बढ्न सजिलो भएको छ।’ स्कुल गएको सुरुआती दिनमा सीतालाई डर र लाज लागेको थियो। अहिले सजिलो भएको उनले अनुभव सुनाइन्।

सीताले जागीर खानका लागि पढ्न सुरु गरेकी होइनन्। शिक्षा प्राप्त गर्दै पढ्ने रहर पूरा गरी जीवन सहज बनाउन पढ्न थालेको उनले बताइन्। उनी दुई वर्ष अघि कक्षा ६ मा भर्ना भएकी थिइन्। कक्षा ६ मा मेहनत गरेर राम्रो अंकसहित उत्तीर्ण भएपछि थप उत्साहित भएको उनले बताइन्।

‘विवाहपछि पढ्ने कोसिस गरेँ तर घरायसी कामकाजले पढ्न पाइनँ। लामो समयपछि पढ्ने रहर जाग्यो। अहिले निरन्तरता दिँदैछु’, उनले भनिन्,‘मेरा दुई छोरा र श्रीमान्बाट साथ सहयोग पाएकोले पढ्न सजिलो भएको छ।’

पहिले छोरी, बुहारीले पढ्न हुँदैन भन्ने मान्यता थियो। अहिले कतिपयले बुढेसकालमा पढेको देख्दा कुरा काट्ने गर्छन्। घरको कामकाजसँगै विद्यालय नियमित जान पाएकोमा उनी खुसी छन्। पढ्ने इच्छाशक्तिलाई उमेरले छेक्दैन भन्ने उदाहरण सीता बनेकी छन्।

सहपाठीले ‘आन्टी’ भनेर सम्बोधन गर्दा खुसी लाग्ने उनले बताइन्। ढिलै भएपनि औपचारिक शिक्षा हासिल गर्न पाउँदा नयाँ अनुभव भएको उनले बताइन्। पढाइलाई निरन्तरता दिइ कक्षा १२ उत्तीर्ण गर्ने योजना सीताको छ।

सीतामा पढाएको बुझ्ने, सिक्ने क्षमता भएको शिक्षक सुनिता शर्माले बताइन्। सीताले देखाएको अनुशासन र लगनशीलताका कारण कक्षाकोठा प्रभावकारी हुने गरेको शिक्षकको भनाइ छ।

प्रकाशित: ८ चैत २०८० १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =