इजिप्टबाट बिरुवा ल्याएर दाङका युवा स्ट्रबेरी खेतीमा, पाँच लाख आम्दानी

हिमाल प्रेस १६ चैत २०८० ९:३१
52
SHARES
इजिप्टबाट बिरुवा ल्याएर दाङका युवा स्ट्रबेरी खेतीमा, पाँच लाख आम्दानी

दाङ- लटरम्म स्ट्रबेरी पाकेका छन्। चरा र किराले नखाओस् भनेर सेतो पातलो कपडाले छोपिएको छ। वाणगङ्गा नगरपालिका कपिलवस्तुमा पाँच वर्ष पहिलेदेखि फूलखेती गरिरहेका भास्कर पङ्गेनी र दशरथ साउदले दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुरमा १७ कठ्ठा जमिन मासिक दुई हजार भाडा दिने शर्तमा विगत दुई वर्षदेखि सयपत्री खेती गरेका थिए।

उनीहरूले सोही स्थानमा अहिले स्ट्रबेरी खेती गरेका छन्। दाङको हावापानी सुहाउँदो केही खेती गरौँ भन्ने साथीहरूसँग सल्लाह गरी स्ट्रबेरी खेती परीक्षणको लागि गरौँ कस्तो हुन्छ भनी खेती गरेको पंगेनीले बताए।

पहिलो प्रयास सफल भएकोमा उनी धेरै खुसी छन्। ‘१०८ डिभाइन एग्रो’ नामको फमबाट तिहारको समयमा सयपत्री फूलखेती गरेका उनीहरूले सयपत्रीको याम सकिएपछि स्ट्रबेरी खेती गरेको फम सञ्चालक दशरथ साउदले बताए।

‘पहिलो वर्ष खेती गरेका छौँ, इजिप्टबाट बिरुवा ल्याएर रोपेकका हौँ राम्रो आम्दानी भयो,’ उनले भने।  दुई वटा विदेशी जातका आठ हजार बिरुवा रहेको उनले बताए। एउटा बिरुवाबाट एक किलोसम्म फल दिएको उनकाे भनाइ छ।

उत्पादन पाँच सयप्रति किलोका दरमा बिक्री भइरहेको र एक किलो किन्दा एक किलो निःशुल्क दिइरहेको उनले बताए। यो योजना यो हप्ताका लागिमात्र भएको जनाइएको छ। स्थानीयवासीलाई फममा आएर स्ट्रबेरीमा फोटो भिडिओ बनाउने सुबिधा पनि रहेको र दैनिक ५० देखि ६० जना स्ट्रबेरी हेर्न, खान र फोटो खिच्न आउने गरेको साउदले बताए।

बिरुवा रोपेको ४० दिनदेखि फल्न स्ट्रबेरी फल्न सुरु गरेको हो। बिरुवा मंसिरमा रोपिएको हो। अहिलेसम्म डेढ क्विन्टल बिक्री भएको साउदले जानकारी दिए। उनकाे भनाइमा पाँच लाख आम्दानी भइसकेको छ। लमही, तुलसीपुरमा पाँच किलो दैनिक ग्राहाकले नियमित लैजाने गरेको उनले बताए।

उनले भने,‘घोराही, बुटवलमा माग अनुसार पठाउने गरेका छौँ। दैनिक ५० किलोसम्म बिक्री हुने गरेको छ। ग्राहक फममै आउने र आउन नसक्नेका लागि डेलिभरी गरिदिने गरेका छौँ।’

दाङको हावा पानीमा राम्रो उत्पादन हुने अनुभव सुनाउँदै उनले अलिकति मेहनत गरेर पसिना बगाए स्वदेशमै केही गर्न सकिने बताए।

प्रकाशित: १६ चैत २०८० ९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =