भैँसीपालनबाट एक लाख बढी कमाउँछन् दाङका टीकाराम

हिमाल प्रेस १७ माघ २०८० १२:५२
6
SHARES
भैँसीपालनबाट एक लाख बढी कमाउँछन् दाङका टीकाराम

दाङ- दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुर्ख्याैली पेसा भैँसीपालन हो। उनले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आएका छन्।

परम्परागत पेसालाई व्यावसायिक बनाउँदै लगेका उनले भैँसीपालनबाट दूध र दही बिक्री गरेर पछिल्लो समय एक लाख ५० हजारसम्म मासिक आम्दानी गर्दै आएका छन्।

साना–ठूला गरेर ७२ भैँसीकाे दूध र दही बिक्री गरेर २३ सदस्य परिवारको खर्च जुटाउनका साथै बचत गरेर जग्गासमेत किनेको उनको भनाइ छ।

उनको भनाइ छ,‘हाम्रो मुख्य आम्दानी नै भैँसीपालन हो, दूध, दही र घिउ बिक्री गरेर घरव्यवहार चलाउनेदेखि बचतसमेत गर्ने गरिरहेको छु।’ ती भैँसीमध्ये १७ भैँसीले दूध दिने र दैनिक करिब ६० देखि ७० लिटरसम्म दूध बिक्री गर्दै आएको उनले बताए।

उनका भाइ टेकबहादुर यादवले लमही बजारसम्म पुर्‍याएर दूध बिक्री गर्ने काम गर्दै आएको बताए। घरका अन्य सदस्यले पनि काममा साथ दिएको उनी बताउँछन्। विदेशमा अर्काको अधिनमा बसेर काम गर्नुभन्दा आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर भैँसीपालन गर्दा राम्रो आम्दानीसँगै सन्तुष्ट रहेको उनले बताए।

यादवले सरकारबाट अहिलेसम्म कुनै प्रकारको सहयोग प्राप्त नगरेको गुनासो गरे। उनले भने,‘अहिलेसम्म जे-जति गरेको छु, सबै आफ्नै मेहनत र परिश्रमबाट गरेको छु। कतैबाट कुनै सहयोग लिएको छैन।’

प्रकाशित: १७ माघ २०८० १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =