जसले शिक्षण छाडेर पशुपालन राेजे

हिमाल प्रेस २६ वैशाख २०८१ १५:५१
98
SHARES
जसले शिक्षण छाडेर पशुपालन राेजे

दाङ- घोराही उपमहानगरपालिका–२ रामपुर निवासी ३४ वर्षीय गोपाल खनाल २०७३ सालअगाडि शिक्षण पेसामा आबद्ध थिए। गाउँमै एक बोर्डिङ स्कुलमा पढाएका उनी पछिल्लो आठ वर्षदेखि भने कृषि पेसामा छन्। ‘ग्रीन लक्ष्मी गाई तथा भैँसी फर्म’ स्थापना गरेदेखि उनी सबै काम छोडेर यही पेसामा छन्।

‘शिक्षण पेसा अथवा अन्य कुनै जागिर गर्नुभन्दा आफ्नै व्यवसाय गर्दा आत्मसन्तुष्टि र आम्दानी पनि हुने बुझाइसहित फर्म स्थापना गरेको थिएँ। अहिले यसमै रमाइरहेको छु’, खनालले भने,‘कोरोनाको समयमा केही समस्या भए पनि अहिले सहज हुँदै गएको छ। अब त यसैमा अभ्यस्त भइसकेँ।’

सुरुआती दिनमा चार लिटरबाट दूध बेच्न सुरु गरेका उनले हाल एक सय २० लिटर उत्पादन गरेर बिक्री गरिरहेका छन्। त्योमध्ये अधिकांश दूध डेरीलाई बिक्रिविरण गर्दै आएको बताउने उनलाई अहिले बिहान उठेदेखि बेलुकासम्म गाईभैँसीको स्याहारसुसार र दूधको चाजापाँजो मिलाउन भ्याइनभ्याइछ।

परिवारको सहयोग र आफ्नो मेहनतले ४० हजारबाट सुरु गरिएको व्यवसायमा अहिले ६० लाख लगानी पुगेको खनालको भनाइ छ। ‘सुरुआती दिनमा व्यवसाय कसरी अगाडि बढ्ला भनेर चिन्ता लाग्ने गर्थ्यो तर निरन्तर मेहनत गरेमा सफलता मिल्दो रहेछ,’ उनले भने,‘अहिले मासिक एक लाखको कारोबार गरिरहेको छु भने वार्षिकरूपमा करिब सात लाखसम्म बचत हुने गरेको छ।’

उनले गाईभैँसीका लागि आवश्यक दाना बजारबाट किन्ने गरे पनि घाँस भने आफैँ उत्पादन गर्न थालेदेखि आम्दानीको केही रकम जोगाउन सकिएको बताए। स्थानीय सरकारले किसानको समस्या बुझ्न र व्यवसायवृद्धिका लागि प्रोत्साहन गर्नसके थप सहज हुने उनको बुझाइ छ। व्यावसायिक पशुपालन र कृषि उद्यम गर्न चाहनेहरूलाई सरकारले सहुलियतका कार्यक्रम ल्याए विदेशीन चाहने युवालाई पनि स्वदेशमै रोक्न सकिने धारणा उनकाे छ।

किसानका लागि सहुलियतका कार्यक्रम ल्याउनसके धेरै जना उद्यमशीलतातर्फ आकर्षित हुन्छन् भन्ने उनको विश्वास छ। त्यसो गर्न नसके पनि भएका नीतिनियमको कार्यान्वयन र किसानमैत्री ऐन कानुन बनाउनसकेमा पनि उद्यमशीलता विकासमा टेवा पुग्नसक्ने उनले बताए। ‘मजस्ता उद्यमशील युवाले स्थानीय सरकारलाई आग्रह नगरेका पनि हैनौँ तर विविध कारणले जिल्लामा विभिन्न पेसा–व्यवसायमा जोडिएका युवासमेत पछिल्लो समय व्यवसाय नै बन्दगरेर विदेशीन थालेका छन्। यसलाई रोक्न जरुरी छ’, उनले भने।

डेरीलाई प्रतिलिटर ७० रुपैयाँमा बिक्री गर्ने उनको सबैभन्दा ठूलो चित्त दुखाइ आफैँले उत्पादन गरेको दूधको मूल्य निर्धारण प्रक्रियामा सङ्लग्न हुन नपाउनुमा छ। ‘हामीले नाफाघाटा, दुःखकष्ट सहेर उत्पादन गर्छौ तर न सरकारले दूधको उचित मूल्य निर्धारण गर्छ न त मूल्य निर्धारण प्रक्रियामा कृषकलाई सहभागी गराउँछ। यसले हामीलाई निराश बनाएको छ’, खनालले गुनासो गरे।

खनालको फर्ममा अहिले २८ वटा गाईभैँसी छन्। उनीलगायत घोराही उपमहानगरपालिका–२ रामपुर क्षेत्रका किसानबाट दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ।

प्रकाशित: २६ वैशाख २०८१ १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + three =