नेपाल टि२० लिग : वाल्टनको अर्धशतकमा जनकपुरको दोस्रो जित

हिमाल प्रेस ११ पुष २०७९ १७:१६
12
SHARES
नेपाल टि२० लिग : वाल्टनको अर्धशतकमा जनकपुरको दोस्रो जित

काठमाडौँ- चाडविक वाल्टनले अर्धशतक प्रहार गरेपछि जनकपुर रोयल्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्समाथि पाँच विकेटको जित हासिल गरेको छ। जनकपुरलाई लिगमा लगातार दोस्रो जित दिलाउन वेस्टइन्डिजका वाल्टनले ५५ बलमा ६९ रन बनाए।

वाल्टनको ब्याटिङ चलेपछि जनकपुरले विराटनगरबाट पाएको १४१ रनको लक्ष्य पाँच विकेटको क्षतिमा पूरा गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर सुपर किंग्सले १९.५ ओभरमा १४० रनको योगफल तयार पारेको थियो। आइतबार पोखरा एभेन्जर्सलाई पराजित गरेको जनकपुरको जित लय कायम राख्न कप्तान ट्रेभोन ग्रिफिथले २५ रनको योगदान गरे। त्यसैगरी शरफुद्दिन असरफले २३ र मोहम्मद आदिल आलमले १० रन जोडे।

त्यसअघि विराटनगरले कमजोर सुरुवात गरेको थियो। ओपनरद्वय अर्जुन साउद र गौरअंशु शर्माले पहिलो विकेटका लागि पाँच रनको मात्र साझेदारी गर्न सके। साउदले २१ बलमा १८ रन बनाउन सके पनि अमेरिकी ब्याट्सम्यान गौरअंशु पहिलो बलमै आउट भएका थिए।

त्यसपछिका तीन ब्याट्सम्यानले भने उल्लेखनीय रन जोडे। जिम्बाबेका अनुभवी अलराउन्डर सिकन्दर राजाले सर्वाधिक ३८ रन बनाए। १८ बल सामना गर्दा उनले चार छक्का र दुई चौका प्रहार गरेका थिए। नेपालका राष्ट्रिय कप्तान रोहित पौडेलले ३२ रन र हुसेत तलाटले २८ रनको योगदान गरे।

कप्तान आन्द्रे म्याककर्थीभने एक रनमै आउट भएका थिए। त्यसैगरी पृथु बास्कोटा, नन्दन यादव र रिजन ढकालले रनको खाता खोल्न सकेनन्। विराटनगरलाई मध्यम योगफलमा सीमित गर्न ललित राजवंशीको बलिङ महत्त्वपूर्ण साबित भयो। उनले आठ रन खर्चिएर पाँच विकेट हात पारे। उनी प्लेयर अफ द म्याच पनि घोषित भए।

जनकपुरका लागि केस्रिक विलियम्स र मोहम्मद आदिल आलमले दुई–दुई विकेट लिए भने सोमपाल कामीको नाममा एक विकेट रह्यो। जितपछि जनकपुर ६ टिम सम्मिलित लिगको दोस्रो स्थानमा उक्लिएको छ। लिगमा जनकपुरबाहेक लगातार दुई खेल जित्ने टिम लुम्बिनी अल स्टार्स हो।

लुम्बिनी हाल शीर्षस्थानमा छ। लगातार दुई खे हारेको विराटनगर पाँचौँ स्थानमा छ। विराटनगर जस्तै अंकको खाता खोल्न नसकेको पोखरा एभेन्जर्स पछारमा छ।

प्रकाशित: ११ पुष २०७९ १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 1 =