आरजुको दबदबाले खुम्चिएको कांग्रेस

मस्त केसी ११ मंसिर २०७९ १४:४५
2.5k
SHARES
आरजुको दबदबाले खुम्चिएको कांग्रेस

काठमाडौँ- प्रतिनिधिसभाको आइतबार मध्याह्नसम्म सार्वजनिक १५६ क्षेत्रको निर्वाचन परिणाममा सत्तारुढ दल नेपाली कांग्रेस ५३ स्थानमा निर्वाचित भएको छ। ठूला पाँच दलीय गठबन्धनविरुद्ध साना दलसँग मिलेर १४० क्षेत्रमा उम्मेदवारी दिएको नेकपा (एमाले) ले ४१ क्षेत्र जितेको छ।

जारी मतगणनामध्ये तीन क्षेत्रमा कांग्रेस अगाडि छ भने दुई क्षेत्रमा एमाले अगाडि देखिएको छ। लोकप्रिय मतमा त एमाले कांग्रेसभन्दा एक लाख बढी मतले अगाडि बढिसकेको छ।

एमालेको लोकप्रिय मत २३ लाख ३४ हजार माथि उक्लिँदा कांग्रेसको २२ लाख ३७ हजार छोएको छ। यही अनुपातमा अगाडि बढे एमालेले समानुपातिकतर्फ कांग्रेसभन्दा दुईदेखि तीन सांसद बढी पाउने देखिन्छ।

प्रत्यक्षको जित र समानुपातिकको सिट बाँडफाँटअनुसार कांग्रेस एमालेभन्दा मुस्किलले सातदेखि १० सिट मात्रैले पहिलो दल बन्ने देखिएको छ।

कांग्रेसको नेतृत्व विशेषगरी बालुवाटारको ‘किचेन क्याबिनेट’ प्रत्यक्षमा ७५ हाराहारी र समानुपातिकमा ३५ हाराहारी सिट जित्ने आकलनसहित निर्वाचनमा गएको थियो। तर परिणाम सोचेजस्तो आएन।

एक्लै बहुमत नजिक पुग्ने आकलन गरेको कांग्रेसलाई सोचेजस्तो मत नआएपछि सत्ता गठबन्धनको दलकै सरकार बनाउन एकदुई साना दलको साहारा लिनुपर्ने अवस्था आएको छ।

एमालेविरुद्ध पाँच दललाई सारथी बनाएर हिँड्दा पनि कांग्रेसले अपेक्षित परिणाम निकाल्न किन सकेन? कांग्रेसका एक केन्द्रीय सदस्यले जवाफ दिए, ‘टिकट वितरणमा भाउजू (आरजु राणा)को मनोमानीले गर्दा।’

एक केन्द्रीय सदस्य भन्छन्, ‘आरजु राणा, मञ्जु खाणलगायतलाई सांसद बनाउन हामीले किन भोट हाल्ने?’

त्यसो त देउवा इतर मात्रै होइन देउवा समूहकै नेताकार्यकर्ता निर्वाचनको टिकट वितरणमा पार्टी सभापति शेरबहादुर देउवाभन्दा उनकी पत्नी आरजु राणा हाबी भएको स्वीकार गर्छन्। त्यही कारण प्रत्यक्षमा मात्रै होइन कांग्रेसले समानुपातिक मतसमेत अपेक्षित पाउन सकेको छैन।

जबकि गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले ३२९ तह जितेको थियो भने एमालेले २०६। सिट संख्यालाई प्रतिशतमा हेर्दा कांग्रेसले ४३.७ प्रतिशत स्थानीय तहमा जित हात पारेको थियो भने एमालेले २७.४ प्रतिशत।

तर प्रतिनिधिसभाको टिकट वितरणमा आरजुले मनोमानी गर्दा कांग्रेस खुम्चिन पुगेको छ। आरजुले टिकट वितरणमा हालीमुहाली गर्दै आफू निकटलाई काखी च्यापेको विषय लुकेको छैन।

उदाहरण– समानुपातिक कोटामा राणा आफू मात्रै अटाइनन्, देउवाको विश्वास पात्र गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाणलाई पनि शीर्ष सूचीमा समेटिन्। प्रत्यक्ष लड्न छोडेर पार्टीको प्रवक्ताजस्तो जिम्मेवारीमा रहेका डा. प्रकाशशरण महत समानुपातिकमा बसे।

यसले गर्दा कांग्रेसकै नेताकार्यकर्ताले समानुपातिक मत रूखमा हालेनन्। कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘आरजु राणा, मञ्जु खाणलगायतलाई सांसद बनाउन हामीले किन भोट हाल्ने?’

यतिमात्रै होइन, प्रत्यक्षको टिकट वितरणमा आफू इतरका समूहलाई बालुवाटारको ‘किचेन क्याबिनेट’ ले ‘बाइकट’ गर्‍यो। पार्टीको तल्लो कमिटीबाट सिफारिस भएर आएका डा. मिनेन्द्र रिजाल, डा. गोविन्दराज पोखरेल, डा. स्वर्णिम वाग्लेलगायतलाई टिकट दिइएन। तल्लो कमिटीबाट सिफारिसमा पार्नै नदिएर केन्द्रीय सदस्य डा. अमरेशकुमार सिंहलाई बागी उठ्न बाध्य पारियो।

फलस्वरूप उनीहरूले आकांक्षा राखेका सबै क्षेत्र कांग्रेसले गुमाएको छ। यसको फाइदा स्वाभाविक रूपमा एमालेलगायत अन्य दललाई भयो। मोरङ-२ मा बालुवाटारको ‘किचेन क्याबिनेट’ ले मिनेन्द्र रिजालको स्थानमा सुजाता कोइरालालाई टिकट दियो।

यसको एउटै कारण कांग्रेसलाई जिताउनभन्दा पनि गत महाधिवेशनमा सुजाताले लगाएको गुण तिर्न दिइएको कांग्रेस नेताहरूको बुझाइ छ। महाधिवेशनमा आफ्नै दाजु डा. शेखर कोइराला सभापतिको उम्मेदवार हुँदासमेत सुजाता प्रकाशमान सिहंको प्यानलबाट उपसभापतिको उम्मेदवार बनिन्। उनी अन्त्यमा देउवालाई साथ दिन पुगेकी थिइन्।

‘प्रत्यक्षमा जित्न सक्ने क्षमता भएकालाई टिकट दिएर समानुपातिकमा आरजु, मञ्जु खाणहरू नबसेको भए कांग्रेसको अहिलेभन्दा २० देखि २५ सिट बढी आउँथ्यो।’

त्यही गुन तिर्न टिकट दिँदा मोरङ-२ कांग्रेसबाट उम्किएर एमालेको पोल्टामा पुगेको छ। जबकि २०७४ को आमनिर्वाचनमा वाम गठबन्धन रहेका बेला मिनेन्द्र रिजालले जितेका थिए।

कांग्रेसका तर्फबाट सिफारिस भएर टिकट नपाएका गोविन्दराज पोखरेलको क्षेत्र प्युठान पनि एमालेको पोल्टामा पुगेको छ। गठबन्धनका कारण प्युठान राष्ट्रिय जनमोर्चाको भागमा पर्‍यो। अघिल्लो निर्वाचनको अंकगणितका आधारमा एक सिट पाउनुपर्ने पार्टीलाई दुई दिँदा उक्त क्षेत्र कांग्रेसले मात्रै गुमाएन गठबन्धनबाटै फुत्किन पुग्यो।

डा. स्वर्णिम वाग्ले सिफारिस भएको क्षेत्र चितवन-१ पनि कांग्रेसले गुमाएको छ। स्थानीय पार्टीले ठूलो आशका साथ स्वर्णिमलाई सिफारिस गरेको थियो। बालुवाटरको ‘किचेन क्याबिनेट’ले विश्व पौडेललाई टिकट दियो। पौडेल चितवनबासी भए पनि स्थानीय नेताकार्यकर्तासँगको घुलमिल थिएनन्।

‘विश्व दाइमा पोलिटिकल नेचर पनि देखिएन,’ चितवनका एक कांग्रेस कार्यकर्ता भन्छन्, ‘स्वर्णिम दाइ आउनुभएको भए कांग्रेस एक ढिक्का हुन्थ्यो र चुनाव पनि जित्नुहुन्थ्यो।’

‘भाउजू’को निगाहमा टिकट पाएका राज्यमन्त्री उमेश श्रेष्ठ पनि चितवन-२ बाट पराजित भएका छन्। बालुवाटार इतर समूहमै भएका कारण टिकट सिफारिसमै नपरेका अमरेशकुमार सिंह सर्लाही क्षेत्र नम्बर–४ बाट निर्वाचित भएका छन्। उनले कांग्रसकै उम्मेदवार नगेन्द्रकुमार रायलाई दुई हजारको मतान्तरले पराजित गरे।

यसरी जित्न सक्नेलाई टिकटबाट वञ्चित गर्दा कांग्रेसले प्रत्यक्षमै ७ देखि १० सिट गुमाएको कांग्रेस नेताहरूको बुझाइ छ। यसको असर समानुपातिक मतमा पनि परेको देखिन्छ। एक केन्द्रीय सदस्य भन्छन्, ‘प्रत्यक्षमा जित्न सक्ने क्षमता भएकालाई टिकट दिएर समानुपातिकमा आरजु, मञ्जु खाणहरू नबसेको भए कांग्रेसको अहिलेभन्दा २० देखि २५ सिट बढी आउँथ्यो।’

टिकट वितरण मात्रै होइन, चुनावी अभियानका क्रममा आरजु राणाले दिएका अभिव्यक्तिले पनि कांग्रेसलाई ‘ब्याक फायर’ गर्‍यो। उनले कतै हेलिकप्टरमा आउन सक्नेलाई भोट दिन आग्रह गरिन् त कतै सुदूरपश्चिमेलीलाई बालुवाटारको ढोका सधैँ खुला रहने अभिव्यक्ति दिइन्।

‘यस्ता कुरा सचेत नागरिक र नेताकार्यकर्तालाई पच्ने कुरै भएन,’ एक नेता भन्छन्, ‘जसले गर्दा कांग्रेसले अपेक्षित परिणाम ल्याएन।’

प्रकाशित: ११ मंसिर २०७९ १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 9 =