म्याग्दी : युवाको पहलमा खेलमैदान

हिमाल प्रेस २७ फागुन २०७९ ८:०८ | Saturday, March 11, 2023
म्याग्दी :  युवाको पहलमा खेलमैदान

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका युवाले २२ लाख रुपैयाँमा खेल मैदान निर्माण गरेका छन्। सदरमुकाम बेनी बजारदेखि १५ मिनेटको दूरीमा रहेको बगरफाँट गाउँका युवाले खेलकुदको माध्यमद्वारा गाउँलाई चिनाउने र समाजलाई संगठित बनाउने उद्देश्यले सो खेल मैदान बनाएका हुन्।

युवाकै अगुवाइ र पहलमा बगरफाँटमा ५५ मिटर चौडाइ र सय मिटर लम्बाइको खेल मैदान निर्माण भएको हो । सो खेल मैदानमा आगामी चैत २८ गतेदेखि रु एक लाख पुरस्कार राशिको प्रथम रिभरसाइड सेभेन ए साइड फुटबल प्रतियोगिता २०७९ आयोजना गरिएको रिभरसाइड युवा क्लब बगरफाँटका अध्यक्ष सुनिल थापाले जानकारी दिए।

विसं २०७५ मा पाँच लाख, २०७६ सालमा सात लाख र २०७७ सालमा १० लाख बजेट बेनी नगरपालिका र प्रदेश सरकारबाट माग गरी खेलकुद मैदान निर्माण गरिएको हो। सोही खेलकुद मैदानलाई अहिले युवाले श्रमदान र देश विदेशमा रहेका व्यक्तिबाट सहयोग उठाइ पाँच लाख खर्च गरेर व्यवस्थित बनाएका छन्।

चैत २८ गते हुने फुटबल प्रतियोगिताका लागि यहाँका युवा एक महिनाअघिदेखि नै तयारीमा जुटेका छन्। फुटबल प्रतियोगितामा करिब आठ लाख खर्च हुनेछ।

गत माघ दोस्रोे साता पोखरामा सम्पन्न दुईवटा फुटसल प्रतियोगितामा यहाँको रिभरसाइड क्लबले प्रथम र द्वितीय स्थान प्राप्त गर्दै रु एक लाख ५० हजार पुरस्कार जितेको थियो।

प्रकाशित: २७ फागुन २०७९ ८:०८ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast