आईसीसी विश्वकप लिग-२ : नेपालको लगातार दोस्रो जित

हिमाल प्रेस २७ असोज २०८३ १९:३७ | Tuesday, October 13, 2026
28
SHARES
आईसीसी विश्वकप लिग-२ : नेपालको लगातार दोस्रो जित

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत नेपालले ओमानलाई ११३ रनले पराजित गरेको छ। जारी शृंखलामा नेपालको यो लगातार दोस्रो जित हो।

नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो।

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।

नेपालका पूर्वकप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ६७ बलमा तीन चौका र एक छक्का प्रहार गरे। करण केसीले १६ बलमा चार छक्का र एक चौकासहित ४० रन बनाए।

अर्जुन कुमालले ४०, ईशान पाण्डे र बसिर अहमदले समान ३७, दीपेन्द्रसिंह ऐरीले २२ तथा सन्दीप जोराले १० रन जोडे।ओमानका साह फैसल, शाकिल अहमद र करण सोनावालेले समान दुई विकेट लिए।

दुई सय ६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटियो। ओमानका कप्तान विनायक शुक्लाले ८३ बलमा ६ चौका र एक छक्कासहित ७७ रन बनाए।

जय ओडेराले २५ र जतिन्दर सिंहले १८ रन जोडे। ओमानका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले समान एक विकेट लिए।

नेपालले जारी शृंखलामा अब शनिबार क्यानडासँग खेल्नेछ।

प्रकाशित: २७ असोज २०८३ १९:३७ | Tuesday, October 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast