निजी क्षेत्रका समस्या सम्बोधन गर्ने गरी कानुन बनाउँछौँ : सभामुख अर्याल

हिमाल प्रेस १३ मंसिर २०८३ २१:२७ | Sunday, November 29, 2026
निजी क्षेत्रका समस्या सम्बोधन गर्ने गरी कानुन बनाउँछौँ : सभामुख अर्याल

चितवन- सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रका समस्या र आवश्यकतालाई सम्बोधन गर्ने गरी समयसापेक्ष, प्रविधिमैत्री तथा भूगोलअनुकूल कानुन निर्माणमा प्राथमिकता दिने बताएका छन्।

चितवन उद्योग सङ्घमा आइतबार आयोजित उद्योग व्यवसायका समसामयिक विषयमा भएको छलफलमा उनले निजी क्षेत्रको हित र व्यवसाय प्रवर्द्धनका लागि उत्कृष्ट कानुन निर्माण गर्नु आफ्नो प्रमुख जिम्मेवारी भएको बताए।

निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन बनाउनुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्रबाट प्राप्त सुझाव र मागलाई नीतिगत सुधारमा उपयोग गर्नुपर्ने बताए। ज्ञापनपत्र बुझाउने र छलफल गर्ने क्रम जारी रहे पनि त्यसबाट प्राप्त उपलब्धिको समीक्षा हुन नसकेको उनको भनाइ थियो।

सभामुख अर्यालले प्रतिनिधिसभाअन्तर्गतका १० वटा संसदीय समितिलाई ‘मिनी संसद्’को संज्ञा दिँदै उद्योगी व्यवसायीलाई आफ्ना समस्या सम्बन्धित समितिमा लिखित रूपमा प्रस्तुत गर्न आग्रह गरे। सरकार, प्रतिपक्ष, कर्मचारी तथा कानुन मन्त्रालयका प्रतिनिधिसमेत सहभागी हुने समितिमा विषय उठाउँदा समस्या समाधानका लागि प्रभावकारी पहल हुन सक्ने उनले बताए।

चालु आर्थिक वर्षमा १६६ वटा नयाँ कानुन निर्माण तथा संशोधन गर्ने तयारी रहेको जानकारी दिँदै उनले एउटामात्र कानुन संशोधन गरेर मुलुकको समृद्धि र व्यवसायीको हित सुनिश्चित गर्न नसकिने बताए। प्रधानमन्त्री, मन्त्री तथा उच्च पदाधिकारीलाई ज्ञापनपत्र बुझाउनुभन्दा सम्बन्धित संसदीय समितिमार्फत नीतिगत सुधारका लागि पहल गर्न उनले सुझाव दिए।

उनले राज्यबाट प्राप्त बजेटको समयमै र प्रभावकारी रूपमा सदुपयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे। बजेट खर्च मात्र नभई त्यसबाट गुणस्तरीय परिणाम देखिनुपर्ने उनको भनाइ थियो।

सभामुख अर्यालले निक्षेपकर्तालाई एक प्रतिशत र लगानीकर्तालाई तीन प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन सकिने वातावरण बनाउनुपर्ने धारणा राखे। उच्च ब्याजदरका कारण उत्पादनशील क्षेत्रमा लगानी निरुत्साहित भइरहेको उल्लेख गर्दै उनले सस्तो ब्याजदरमा कर्जा उपलब्ध भए उद्योग व्यवसाय विस्तार र लगानी प्रवर्द्धनमा सहयोग पुग्ने बताए।

राज्य सबै नागरिकको साझा भएको उल्लेख गर्दै उनले प्रत्येक नागरिकले राज्य आफ्नो पनि हो भन्ने अनुभूति गर्न पाउनुपर्ने बताए। नागरिकको अभिव्यक्ति स्वतन्त्रता र अधिकार संरक्षण गर्दै भूगोलअनुकूल तथा नयाँ पुस्ताको आवश्यकताअनुसार प्रविधिमैत्री कानुन निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

स्थिर सरकारप्रतिको जनअपेक्षालाई अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो। उद्योगी व्यवसायीलाई निराश नभई लगानी गर्न आग्रह गर्दै उनले अनुकूल ब्याजदर र लगानीको वातावरण निर्माण भए उद्योग, व्यवसाय तथा रोजगारी विस्तारमा टेवा पुग्ने बताए।

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले निजी क्षेत्रले भोगिरहेका विभिन्न समस्या, चुनौती तथा नीतिगत सुधारका आवश्यकताबारे सभामुख अर्यालको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: १३ मंसिर २०८३ २१:२७ | Sunday, November 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast