सभामुख डोलप्रसाद अर्याल । फाइल तस्बिर ।
धादिङ- सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनःस्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह गरेका छन्।
धादिङको गल्छीस्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकनपछि उनले विपद्का बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताए।
‘पीडित परिवारले कति छिटो राहत पाए र सरकारको उपस्थिति महसुस गरे भन्ने विषय महत्वपूर्ण हो’, सभामुख अर्यालले भने, ‘एक जना पनि पीडित नागरिकले ‘सरकार पाइनँ’ भन्ने अवस्था आउनुहुँदैन।’
सभामुख अर्यालले बाढीबाट विस्थापित परिवारलाई यथाशीघ्र सुरक्षित बसोबासको व्यवस्था मिलाउने गरी पुनःस्थापनाका काम द्रुत प्रक्रियाबाट अघि बढाउन सरकारसँग समन्वय भइरहेको जानकारी दिए।
राहत वितरणलाई न्यायोचित र व्यवस्थित बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी एकद्वार प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।


