सिंहदरबारमा मंगलबार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठलगायत।
काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीहरूका लागि तत्काल पुनरुत्थान योजना ल्याउन सरकारसँग माग गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले हालैको विपद्का कारण साना पुँजी भएका व्यवसायीहरूको सर्वस्व गुमेको अवस्था रहेकाले व्यवसायीहरूका लागि पुनरुत्थान योजना ल्याउन सरकारसँग माग गरेका हुन्।
उनले त्रिशूलीलगायतका क्षेत्रका व्यवसायीहरूले विपद्ले धनमाल सबै बगाएर लगे पनि बैंकको ऋण भने नसकिएको गुनासो गरेको बताए। भोटेकोशी विपद् र पछिल्लो क्षतिबारे महासंघले टोली खटाएर स्थलगत अध्ययन गरी विस्तृत प्रतिवेदन तयार गरेको भन्दै उनले पूर्ण प्रतिवेदन यस साताको अन्तसम्ममा सरकारलाई बुझाउने तयारी रहेको बताए।
उनले भविष्यका बाढी, पहिरो तथा जलवायु जोखिमलाई ध्यानमा राखी सुरक्षित र जलवायु सहनशील पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए।
श्रेष्ठले दसैँका लागि ल्याइएका सामान तथा हजारौँ नयाँ गाडीहरू रोकिएर नोक्सान भएकाले तातोपानी नाका छिटोभन्दा छिटो खुलाउन सरकारसँग आग्रह गरे।



