क्रिकेट विश्वकप लिग २ : त्रिविमा भिड्दैछन् शीर्ष टोली स्कटल्यान्ड र अमेरिका

हिमाल प्रेस ६ जेठ २०८३ ७:०१ | Wednesday, May 20, 2026
क्रिकेट विश्वकप लिग २ : त्रिविमा भिड्दैछन् शीर्ष टोली स्कटल्यान्ड र अमेरिका

काठमाडौँ- आईसीसी विश्वकप लिग २ का शीर्ष दुई टोली स्कटल्यान्ड र अमेरिका आज प्रतिस्पर्धा गर्दै छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विहान साढे ९ बजे सुरु हुने खेलको विजेता टोलीले प्रतियोगिता नै जित्ने सम्भावना बलियो बन्ने छ।

स्कटल्यान्ड ३१ खेलमा ३८ र अमेरिका २६ खेलमा ३६ अंक जोड्दै पहिलो दुई स्थानमा छन्। स्कटल्यान्डले ५ खेल अमेरिकाले १० खेल खेल्न बाँकी छ। सन् २०२४ बाट सुरु भएको लिग २ को तीनवर्षे साइकलमा एउटा टोलीले ३६ खेल खेल्ने छ र सर्वाधिक अंक जोड्ने टोली विजेता बन्ने छ। उपाधिका लागि हाललाई स्कटल्यान्ड र अमेरिकामात्र दाबेदार देखिएका छन्।

ओमान २८ खेलमा ३१, नेदरल्यान्ड्स २४ खेलमा २८, नेपाल २७ खेलमा २२, नामिबिया २८ खेलमा २२, क्यानडा २४ खेलमा २१ र यूएई २४ खेलमा १४ अंक जोडेर क्रमशः तेस्रोदेखि आठौँ स्थानमा छन्। शीर्ष चार टोलीले सोझै एकदिवसीय विश्वकप छनोटमा प्रवेश पाउने प्रावधान छ।

स्कटल्यान्डले पहिलो दुई खेलमा नेपाल र अमेरिकालाई समान २ रन अन्तरले पराजित गरेको थियो। त्यसपछि टोली बिहीबार नेपालसँग ६ विकेटले पराजित भयो। स्कटल्यान्डपछि अमेरिका अर्को खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो। कीर्तिपुर मैदान अमेरिकाका लागि लिग २ मा दुःस्वप्न बन्दै आएको छ।

सन् २०२० मा पछिल्लो पटक काठमाडौँ आउँदा पनि अमेरिका नेपाल र ओमानसँग २–२ गरी चार खेलमा पराजित भएको थियो। लिग २ का कुल ६ खेलमै अमेरिकाले कीर्तिपुरमा खेल्दा पराजय भोगेको स्थिति छ। शीर्षस्थानका साथ नेपाल आएको अमेरिका दुई खेलमा हारपछि दोस्रो स्थानमा झरेको हो। स्कटल्यान्डले भने सुरुको दुई खेल जितेर अंकतालिकामा अमेरिकालाई उछिनेको थियो।

सन् २०२३ मा पछिल्लो पटक काठमाडौँ आउँदा नेपाली भूमिमा लिग २ को पछिल्लो सर्कलको उपाधि जितेको स्कटल्यान्डको बुधबार शृंखलामा अन्तिम खेल हो। अमेरिकाले भने शुक्रबार अन्तिम खेलमा नेपालसँग खेल्नेछ।

प्रकाशित: ६ जेठ २०८३ ७:०१ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast