पाकिस्तानको पेसावरस्थित एक विद्यालयको छानो खस्दा मृत्यु भएका व्यक्तिको शव अस्पतालबाहिर एम्बुलेन्समा राख्दै स्वयंसेवक र आफन्तहरू। तस्बिर : एएफपी/रासस
काठमाडौँ- पाकिस्तानको पेसावरमा विद्यालयको छानो खस्दा ३३ बालबालिका र एक शिक्षिकासहित ३४ जनाको मृत्यु भएको छ।
बीबीसी अनुसार लेडी रिडिङ अस्पतालले ३३ जनाको मृत्यु पुष्टि गरेको छ भने नसिरुल्लाह खान बाबर मेमोरियल अस्पतालले एक विद्यार्थीको मृत्यु भएको जनाएको छ।
मृतकमध्ये २५ वर्षीया शिक्षिका समरिन बीबी पनि छिन्। अस्पतालमा ल्याइएका बालबालिकाको उमेर ६ देखि १४ वर्षसम्म रहेको बताइएको छ।
उक्त अस्पतालबाट १७ बालबालिकालाई उपचारपछि घर पठाइएको छ। एक शिक्षक र तीन बालबालिकाको भने अझै उपचार भइरहेको छ।
पेशावरका एक वरिष्ठ प्रहरी अधिकारीले विद्यालयको भवन विद्यार्थीको भार थेग्न नसकेपछि भत्किएको बताएका छन्। वरिष्ठ प्रहरी उपरीक्षक (अपरेसन) फरहान अहमदका अनुसार विद्यालयको भवन अत्यन्त जीर्ण अवस्थामा थियो।
उक्त विद्यालयमा करिब तीन सय विद्यार्थी अध्ययनरत थिए। घटना हुँदा तीनवटा कक्षाकोठामा करिब एक सय विद्यार्थी उपस्थित थिए।
घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।




