काठमाडौँको बालाजुस्थित नयाँ बसपार्कमा लागेको भीड। फाइल तस्बिर
काठमाडौँ- केही दिनअघि साहित्यकार एवं प्राज्ञ राजन मुकारुङले सामाजिक सञ्जालमा लेखे, ‘काठमाडौँमा त साथीभाइ अरू बेला छन्, चाडबाड आएपछि हुरुरू कुदिहाल्दा रहेछन्, नसम्झिँदा रहेछन्।’
मुकारुङ लामो समयदेखि काठमाडौँमै बसेर दसैँ मनाउँदै आएका छन्। यसपटक उनलाई दसैँ खल्लो लागेको छ। आफ्ना दौँतरी एकपछि अर्को गर्दै गृहक्षेत्र लागेपछि उनी खिन्न छन्। ‘कहिले साथीभाइ हुन्छन्, कहिले हुँदैनन्। यसपटक त फोन नै नगरी हिँडेछन्,’ मुकारुङ गुनासो गर्छन्।
काठमाडौँमै लामो समय बिताएका मुकारुङलाई चाडपर्वमा सहर रित्तिँदा सधैँजसो खल्लो लाग्छ। ‘अब एकदुई दिनदेखि त काठमाडौँमा सागसब्जी पनि किन्न पाइँदैन। पुराना फलफूल खायो, बस्यो गर्नुपर्छ,’ उनी थप्छन्।
उनका अनुसार दसैँमा काठमाडौँको चहलपहल मात्र घट्दैन, दैनिक उपभोग्य वस्तु पाउनसमेत कठिन हुन्छ। एकातिर साथीभाइ नहुँदा एक्लोपन महसुस हुन्छ, अर्कातिर आवश्यक सामग्रीको अभावले दैनिकी असहज बन्छ। ‘दुई वर्षजति भयो, रक्सीसक्सी पनि छाडियो। के खाएर बाँच्ने होला,’ उनी भन्छन्।
मुकारुङको अनुभवले चाडपर्वमा काठमाडौँको बदलिँदो स्वरूप देखाउँछ। अरू बेला भीडभाड हुने राजधानी दसैँतिहारमा भने सुनसान बन्छ। सडक खाली हुन्छन्, बजार बन्द हुन्छन् र सार्वजनिक जीवनको गति सुस्ताउँछ। लाग्छ, काठमाडौँ स्थायी बसोबासको सहरभन्दा काम र अवसर खोज्न आउनेहरूको अस्थायी थलो हो। चाडपर्व लागेपछि यहाँ बस्ने ठूलो जनसंख्या घर फर्किन्छ।
मानिसको आवतजावतसँगै यातायातको चाप पनि बदलिन्छ। उपत्यकाभित्र चल्ने सवारीसाधनमा यात्रु घट्छन् भने जिल्लातर्फ जाने गाडी भरिभराउ हुन्छन्। काठमाडौँ खाली गरेर बाहिरिने यात्रुको चाप यतिसम्म हुन्छ कि बाहिरबाट रित्तै आएका सवारीसाधनसमेत यात्रु बोकेर फर्किन्छन्। दसैँतिहारमा राजधानीको व्यापारिक कारोबारदेखि सडकको चहलपहलसम्म प्रभावित हुन्छ।
‘म तीन दिनजति हो गाडी कुदाउने। त्यसपछि त काठमाडौँमा चरोमुसो पनि हुँदैन,’ काठमाडौँ-भक्तपुर रुटमा सवारी चलाउने एक चालक भन्छन्, ‘काठमाडौँलाई चाडबाड लाग्दैन। यहाँ त मानिसहरू कमाउन मात्र आउँदा रहेछन्।’
३५ वर्षदेखि सोही रुटमा सवारी चलाउँदै आएका उनी पछिल्ला वर्षमा काठमाडौँ झन् सुनसान हुन थालेको अनुभव सुनाउँछन्।
‘बाहिरका मानिस त बाहिरै जान्छन्, ठीकै छ। यहाँ बस्नेहरू पनि बाहिरै जान्छन्,’ उनी भन्छन्, ‘पोखरा, मुक्तिनाथ, लुम्बिनीतिर घुम्न जान्छन्। हामीले पनि पाइयो भने त्यतैको ट्रिप गर्नुपर्ला।’
चाडपर्वमा सरकारी तथा निजी कार्यालयमा बिदा हुने भएकाले फुर्सदिला भएका मानिस घर फर्किने वा घुमफिरमा निस्कने गर्छन्। पछिल्लो समय घुमघामका लागि काठमाडौँबाहिरका पर्यटकीय गन्तव्य रोज्ने क्रम बढेको छ। काठमाडौँकै बासिन्दा पनि बिदा मनाउन बाहिर जाने गरेका छन्। अर्कातिर, युवा जनशक्तिको विदेश पलायनले पनि राजधानीको चहलपहलमा असर पारेको जानकारहरूको विश्लेषण छ।
चाडपर्वमा लाखौँ मानिस बाहिरिन्छन्
दसैँतिहारमा काठमाडौँ सुनसान हुनुको प्रमुख कारण उपत्यकाबाट बाहिरिने यात्रुको ठूलो संख्या हो। यातायात व्यवसायीका अनुसार दसैँका बेला काठमाडौँबाट लाखौँ मानिस बाहिरिन्छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार सडक यातायातबाट मात्रै सामान्य अवस्थामा ६-७ लाख मानिस बाहिरिने गरेका छन्।
यस वर्ष सडकमा बाढीपहिरोका कारण यातायात प्रभावित भएकाले बाहिरिनेको संख्या केही घट्न सक्ने महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला बताउँछन्।
‘यसपटक बाटो बिग्रिएकाले खासै धेरै मानिस जाने मनसायमा छैनन्,’ उनी भन्छन्, ‘यति हुँदा पनि आठ-नौ लाख बाहिरिए। अझै दुई गतेसम्म बाहिरिने क्रम जारी रहन्छ।’
नयाँ बसपार्कबाट बाहिरिने यात्रुको संख्या पनि उल्लेख्य छ। लोत्से बहुउद्देश्यीय प्रालिका अनुसार असोज १७ गते ३०८ बस र १८५ माइक्रोबसबाट १८ हजार ७२९ यात्रुले काठमाडौँ छाडेका थिए। असोज १८ गते ३२० बस र २०५ माइक्रोबसबाट १९ हजार ५३० यात्रु बाहिरिएका थिए।
त्यस्तै, असोज १९ गते ३६४ बस र २३२ माइक्रोबसबाट २३ हजार १६ यात्रु तथा असोज २० गते ३३४ बस र २३१ माइक्रोबसबाट २० हजार ६०२ यात्रुले काठमाडौँ छाडेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधि मल्लले जानकारी दिए। उनका अनुसार नयाँ बसपार्कबाट बाहिरिएका यात्रुले मुख्यतः पृथ्वी राजमार्ग हुँदै यात्रा गरेका थिए।
काठमाडौँ उपत्यकाका अन्य नाकाबाट पनि ठूलो संख्यामा यात्रु बाहिरिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमका अनुसार कोटेश्वर, गौशाला, चाबहिल, कलंकी, माछापोखरी र बल्खुलगायत स्थानबाट सोही अवधिमा करिब डेढ लाख यात्रुले उपत्यका छाडेका छन्।
यी तथ्यांक बस तथा माइक्रोबसबाट बाहिरिने यात्रुका हुन्। निजी सवारीसाधन, अन्य सार्वजनिक यातायात र हवाई माध्यमबाट बाहिरिने यात्रु जोड्दा संख्या अझै ठूलो हुन्छ।
विपत्तिका बीच पनि रोकिएन बाहिरिने क्रम
यस वर्ष दसैँअघि बाढीपहिरोले देशका विभिन्न सडकखण्डमा क्षति पुर्यायो। केही मुख्य राजमार्ग अझै अवरुद्ध छन् भने रसुवा र गोरखातर्फका सडकसमेत पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। तर काठमाडौँबाट बाहिरिने यात्रुको चाप रोकिएको छैन।
‘संख्या केही घट्ला, तर बाहिरिने क्रम रोकिँदैन,’ महासंघका अध्यक्ष सिटौला भन्छन्, ‘कात्तिक २ गतेदेखि झन् जोखिम बढ्छ। कसरी भीड थाम्ने भन्ने टुंगो छैन।’
सडक अवरुद्ध हुँदा यात्रामा जोखिम र असहजता बढेको छ। सडक तथा हवाई भाडासमेत बढेको यात्रुको गुनासो छ। सवारीसाधनमा चाप बढ्दा सिट क्षमताभन्दा बढी यात्रु राख्नुपर्ने अवस्था पनि देखिएको छ। तैपनि चाडपर्व मनाउन घर फर्किने क्रम जारी छ।
किन चाडपर्वमा काठमाडौँ रित्तिन्छ?
काठमाडौँ उपत्यका रोजगारी, शिक्षा र सुविधाको खोजीमा देशका विभिन्न भागबाट मानिस आउने प्रमुख गन्तव्य हो। राष्ट्रिय जनगणना २०७८ अनुसार कामको खोजीमा उपत्यकामा बसाइँ सरेर आउनेको अनुपात १८.९ प्रतिशत छ। शिक्षाका लागि बसाइँ सर्नेहरूको अनुपात १३.७ प्रतिशत रहेको तथ्यांक छ।
पछिल्ला वर्षमा गाउँबाट सहर र सदरमुकाम तथा पहाडबाट तराईतर्फ बसाइँ सर्ने क्रम पनि बढेको छ। रोजगारी, शिक्षा र अन्य सुविधाको खोजीमा काठमाडौँ आउनेमध्ये ठूलो संख्या स्थायी रूपमा नभई अस्थायी रूपमा बसोबास गर्छ। कर्मचारी, विद्यार्थी र मजदुर त्यसका उदाहरण हुन्।
यस्ता बासिन्दाका लागि काठमाडौँ काम र अवसरको केन्द्र भए पनि चाडपर्व परिवार र आफन्तसँग भेटघाट गर्ने समय हो। त्यसैले दसैँतिहारमा उनीहरू गृहजिल्ला फर्किन्छन्। बिदाको अवसरमा कतिपय घुमघाममा निस्कन्छन्। यही मौसमी आवागमनले अरू बेला भीडभाड हुने राजधानीलाई केही दिनका लागि सुनसान बनाइदिन्छ।
काठमाडौँमा मानिसको संख्या घट्नुको कारण बसाइँसराइको स्वरूप मात्र होइन, चाडपर्वमा सहरबाहिर घुम्न जाने प्रवृत्ति र वैदेशिक रोजगारीका लागि युवा बाहिरिने क्रम पनि हो। यी कारणले राजधानीको जनजीवन र बजारमा चाडपर्वको प्रभाव थप स्पष्ट देखिन्छ।
यसरी काठमाडौँ वर्षभरि रोजगारी, शिक्षा र अवसरको खोजीमा मानिसलाई तान्ने सहर बने पनि चाडपर्वमा भने तिनै मानिसको बहिर्गमनले रित्तिन्छ। राजधानीको चहलपहल यहाँ स्थायी रूपमा बस्ने बासिन्दाभन्दा अस्थायी रूपमा बसोबास गर्ने जनसंख्यामा बढी निर्भर देखिन्छ।





