आईसीसी विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको जित, एकदिवसीय मान्यता जोगाउन सफल

हिमाल प्रेस २ कार्तिक २०८३ १९:४१ | Monday, October 19, 2026
आईसीसी विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको जित, एकदिवसीय मान्यता जोगाउन सफल

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालले ओमानविरूद्ध १० रनको जित हात पारेको छ।

यो जितसँगै लिग–२ मा छैटौँ स्थान पक्का गर्दै नेपालले एकदिवसीय मान्यता कायम राख्न पनि सफल भएको छ।

सोमबार अल अमरेत ग्राउन्ड टर्फ १ मा भएको खेलमा नेपालले ओमानसमक्ष २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्य पछ्याउने क्रममा ओमान ५० ओभरमा ६ विकेट गुमाएर २७० रनमात्र बनाउन सक्यो।

ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ८९ रन बनाए। त्यस्तै कप्तान हमाद मिर्जाले ८७ र हसनैन शाहले ४० रनको योगदान दिए। यीबाहेक ओमानका अन्य ब्याटरहरुले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए। सन्दीप लामिछानेले एक विकेट निकाले।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रनको योगफल खडा गरेको थियो। नेपालका लागि देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अधशतकीय पारी खेले।

खनाले ५७, पौडेलले ८० र ऐरीले ६९ रन बनाए। त्यस्तै इशान पाण्डेले २९ र आसिफ शेखले ७ रनको योगदान दिए।

ओमानका लागि शाह फैजलले ५ विकेट निकाले भने जय ओडेरा ३ र समय श्रीवास्तवाले २ विकेट लिए।

सुरुको दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल शनिबार क्यानडासँग पारजित भएको थियो। क्यानाडासँग पराजित भएपछि नेपाल सातौँ स्थानमा झरेको थियो।

नेपालले ओमानलाई हराएर ३६ खेलमा ३० अंकका साथ फेरि छैटौँ स्थानमा उक्लिएको छ।

प्रकाशित: २ कार्तिक २०८३ १९:४१ | Monday, October 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast