‘नेपाल-बंगलादेशमा जस्तो हिंसात्मक होइन, भारतमा संविधानअनुसारै सत्ता ढल्छ’

हिमाल प्रेस २ कार्तिक २०८३ १८:०६ | Monday, October 19, 2026
10
SHARES
‘नेपाल-बंगलादेशमा जस्तो हिंसात्मक होइन, भारतमा संविधानअनुसारै सत्ता ढल्छ’

काठमाडौँ- भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै चलिरहेको विरोध प्रदर्शनलाई अब जिल्लास्तरसम्म विस्तार गरिने भएको छ।

संयुक्त किसान मोर्चाको आह्वानपछि किसान संगठन, ट्रेड युनियन र दलित संगठनका नेताहरूले अभिनेता तथा सामाजिक कार्यकर्ता प्रकाश राजको उपस्थितिमा बेंगलुरूमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अभिनेता प्रकाशले किसानहरुले आफ्ना छोराछोरीमाथि भएको दमन देखेको भन्दै यो आन्दोलन केवल राजनीतिक मुद्दा नभई मतदाताको सम्मान र मताधिकारको रक्षाको विषय भएको बताए।

‘यो सत्ताधारी सरकारका लागि स्पष्ट सन्देश हो कि पूरा देश अहिले एक भएर उभिरहेको छ,’ उनले भने।

सत्ताधारी दलले नै आह्वान गरेको ‘हर घर तिरंगा’ अभियानसँग जोडिएका प्रदर्शनकारी सौरभ दास र आशुतोष राङ्कालाई पाँच दिनसम्म जेलमा राखिएकोमा प्रकाशले अपात्ति जनाए।

इतिहास साक्षी रहेको भन्दै उनले संसारका तानशाहहरुले सधैँ न्यायिक प्रक्रियालाई दण्ड दिने हतियारका रुपमा प्रयोग गरेको आरोप लगाए। उनले न्यायाधीशलाई धम्की दिने, वास्तविक दोषीहरुलाई छोडेर निर्दोषलाई हिरासतमा राखिएको भन्दै सरकारमाथि प्रश्न उठाए।

अभिनेता प्रकाशले दक्षिण एसियाली मुलुकहरु नेपाल, बंगलादेश र श्रीलंकामा भएका आन्दोलनभन्दा भारतको स्थिति फरक रहेको बताए। उनले यी देशहरू जस्तो नभई संविधानअनुसार सत्ता परिवर्तन हुने जिकिर गरे।

‘ती देशहरुमा अम्बेडकर वा गान्धी थिएनन्, तर हाम्रो देशमा बलियो संविधान छ। हाम्रो आन्दोलन पूर्ण रुपमा शान्तिपूर्ण हुनेछ,’ उनले भने।

प्रकाशले सरकारले वार्ता नगरे जनताले भोटमार्फत सत्ताबाट बाहिर निकाल्ने चेतावनीसमेत दिए।

उत्तर प्रदेश, गोवा र मणिपुरबाट सत्ता परिवर्तनको सुरुवात हुने दाबी गर्दै उनले अन्ततः भारतीय जनताले नै मोदी सरकारलाई सत्ताबाट हटाउने जिकिर गरे।

प्रकाशित: २ कार्तिक २०८३ १८:०६ | Monday, October 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast