काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद शिवशंकर यादवले शिक्षकहरूले समयमा तलब नपाउने समस्या समाधान गर्दै शिक्षण पेसाको प्रतिष्ठा र शिक्षकहरूको मनोबल बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले मधेशलगायत धेरै स्थानीय तहमा राजनीतिक तथा प्रशासनिक विवादका कारण शिक्षकहरूले समयमा तलब पाउन नसकेको बताए।
यादवले भने,‘जबसम्म हामी माटोमा मिलेको शिक्षण पेसाको प्रतिष्ठा र शिक्षकहरूको मनोबल उठाउन सक्दैनौँ, तबसम्म शिक्षा क्षेत्रमा सुधार सम्भव छैन। मधेशलगायत धेरै स्थानीय तहमा राजनीतिक र प्रशासनिक विवादका कारण शिक्षकहरूले समयमा तलब पाउन सकेका छैनन्।’
सांसद, मन्त्री र निजामती कर्मचारीले समयमै तलब पाउने तर शिक्षकहरू महिनौँसम्म तलबको पर्खाइमा बस्नुपर्ने अवस्था न्यायोचित नभएको उनको भनाइ थियो।
उनले भने,‘हामी सांसद, मन्त्री र निजामती कर्मचारीहरूले आफ्नो तलब समयमै पाइसकेका छौँ। हामी मजाले दसैँ मनाउँछौँ। तर कक्षाकोठामा भविष्य निर्माण गरिरहेका शिक्षकहरू महिनौँसम्म तलबको पर्खाइमा बस्नुपर्ने अवस्था कतिको न्यायोचित छ?’
शिक्षकलाई निरुत्साहित र पीडित बनाएर शिक्षा क्षेत्रमा सुधार ल्याउन नसकिने भन्दै यादवले संघदेखि स्थानीय तहसम्म बजेट निकासा र भुक्तानीको झन्झटिलो प्रक्रिया अन्त्य गर्न माग गरे।
उनले प्रत्येक महिना शिक्षकहरूले समयमै तलब पाउने व्यवस्था सुनिश्चित गर्न शिक्षा मन्त्रालय र सरकारको ध्यानाकर्षण गराए।



