भोटेकोशी बाढीपछि सेनाको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय

हिमाल प्रेस ११ असोज २०८३ १६:५६ | Sunday, September 27, 2026
4
SHARES
भोटेकोशी बाढीपछि सेनाको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय

काठमाडौँ- नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा संगठनको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष निकालेको छ।

प्रतिकूल र तीव्रगतिमा बदलिने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाब, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच सम्पूर्ण उद्धार अभियान गरिएको सेनाले जानकारी दिएको छ।

भोटेकोशी बाढीले राष्ट्रिय संकट व्यवस्थापनमा विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तरनिकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने सन्देश दिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।

उनले भने,‘संकटको जुनसुकै कठिन घडीमा पनि अग्रपंक्तिमा खटिएर नेपाली सेनाले प्रदर्शन गरेको अदम्य साहस तथा मानवीय समर्पण राष्ट्रका लागि गौरव, प्रेरणा र भविष्यका विपद् प्रतिकार्यका लागि महत्त्वपूर्ण दृष्टान्तका रूपमा रहनेछ।’

रसुवा बाढीपछिको एक महिनाको अवधिमा गरिएका खोज तथा उद्धार, स्वास्थ्य सेवा प्रदान र प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनर्स्थापनाका प्रयासबारे सेनाले उपलब्ध गराएको दस्तावेजमा विपद् प्रतिकार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत् आयोजनाका पुरिएका सुरुङभित्र गरिएको उद्धार भएको उल्लेख छ।

भोटेकोशी बाढी : खोज, उद्धार तथा विपद् व्यवस्थापनमा नेपाली सेना

गत भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीले नदी आसपासका तटीय क्षेत्रमा अपूरणीय क्षति पुर्‍यायो। यस अप्रत्यासित जलप्रकोपका कारण स्थानीय मानव बस्ती, सडक पूर्वाधार, पुलहरू तथा जलविद्युत् आयोजना क्षणभरमै लेदोमा बिलिन हुन पुगे।

यस्तो विकराल र विषम राष्ट्रिय संकटको घडीमा नेपाली सेनाले आफ्नो उत्कृष्ट मानवीय दायित्व निर्वाह गर्दै आपत्कालीन खोज, उद्धार तथा विपद् व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्‍यो।

विपद्को खबर प्राप्त हुनासाथ रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र पूर्वी नवलपरासीलगायत इलाकामा तैनाथ सैनिक युनिट तत्काल उद्धार कार्यका लागि खटिएका थिए।

विषम परिस्थितिमा उद्धार अभियानलाई चुस्त बनाउन ९ हजार ३०० भन्दा बढी सैनिक जनशक्ति परिचालन गरिनुका साथै कम्पोजित क्विक रियाक्सन टिम (सिक्युआरटी) र आपत्कालीन मेडिकल टिमसहित तुरुन्त चारवटा हेलिकप्टर खोज तथा उद्धारका लागि खटाइएका थिए।

भौगोलिक विकटता र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको चुनौतीपूर्ण स्थितिमा सेनाले हवाई उद्धार, जमिनी उद्धार, टनेल उद्धार, स्वास्थ्य सेवा तथा सडक सञ्जाल पुनर्स्थापनामा द्रुतगतिमा कार्य अगाडि बढाइरहेको छ।

भौगोलिक जटिलता र सडक सञ्जाल पूर्ण रूपमा बिच्छेद भएको परिस्थितिमा नेपाली सेनाले हवाई मार्गलाई प्राथमिक माध्यम बनायो। एमआई-१७ लगायत सातवटा सैनिक हेलिकप्टर र निजी क्षेत्रका हवाई साधनलाई रणनीतिक रूपमा परिचालन गरिएको थियो।

त्रिशूली र धुन्चेमा बेस स्थापना गरी एयर ट्राफिक कन्ट्रोल (एटिसी) सञ्चालनसहित दैनिक १५ देखि २२ वटा हेलिकप्टरमार्फत एक हजार ६०० भन्दा बढी उडानहरू भएका छन्।

हवाई अभियानबाट कुल चार हजार २४२ जना (तीन हजार ९५९ नेपाली र १२ देशका २८३ विदेशी नागरिक) को सकुशल उद्धार भएको छ।

यसका साथै टिमुरे, स्याफ्रुबेँसी, मैलुङ र हाकुबेँसीजस्ता स्थानमा हजारौँ किलो खाद्यान्न, औषधी, रासन र अक्सिजन सिलिन्डर एयरलिफ्ट तथा ड्रोनबाट पठाउनुका साथै टनेल क्षेत्रमा खोज तथा उद्धारका लागि अतिआवश्यक उपकरण लैजान स्लिङ अपरेसनसमेत सञ्चालन गरिएको थियो।

रसुवागढीदेखि नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा जमिनी खोज तथा उद्धारकार्यलाई उत्तिकै महत्व तथा तीव्रताका साथ अगाडि बढाइ नेपाली सेनाले नदी किनार, ज‌गल, डाँडाकाँडा र सडक बिच्छेद तथा बाढीबाट बढी प्रभावित तुप्चे, दानसिङ, कालिकास्थान, स्याफ्रुबेँसीलगायत बस्तीमा निरन्तर पैदल गस्ती सञ्चालन गरी शव संकलन र स्थानीय निकायसँग समन्वय र सहकार्य गरी परिस्थितिको बारेमा जानकारी संकलन गरिएको थियो।

अप्ठ्यारो भूभागमा सम्भावित स्थानको पहिचान गर्न थर्मल ड्रोन तथा आधुनिक उपकरणको प्रयोग गरी रेकीसमेत भएका छन्। जमिनी उत्खनन र खोजीका क्रममा फेलापरेका एक हजार ४५१ वटा शवको व्यवस्थापनमा सहयोग गरेको छ।

स्थानीय प्रशासन, स्थानीय निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सबै सरोकारवाला पक्षसँग समन्वय र सहकार्यमा यी कार्यहरू भएका छन्। विपद् प्रतिकार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत् आयोजनाका पुरिएका सुरुङहरूभित्र गरिएको उद्धारकार्य हो।

जलविद्युत् आयोजनाको सुरुङ इलाकाबाट दुई हजार ७९८ र बाढीको लेदो, माटो र ठूला चट्टानले पुरिएका सुरुङबाट निरन्तर रूपमा गरिएको अथक प्रयासबीच सात जनाको जीवितै उद्धार गर्न सफल भएको छ।

त्रिशूली-३ ‘ए’ मा ड्रिलिङ मेसिन, एक्स्काभेटर, रक ब्रेकर र नियन्त्रित विस्फोटमार्फत क्राउन हेड खोली, अक्सिजन पम्प गरेर भदौ १९ गते सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ।

माथिल्लो त्रिशूली-१ बाट अडिट सुरुङको २२५ मिटर गहिराइबाट रबर बोट र थर्मल क्यामेराको प्रयोग गरी चिनियाँ नागरिकको सफल उद्धार गरिनुका साथै जम्मा ३७ वटा शवसमेत संकलन भएका थिए।

खोज तथा उद्धार टोलीद्वारा करिब एक हजार ५० मिटर वैकल्पिक बाटो खोली चिलिमे सुरुङको ब्रेकथ्रुपश्चात् पाँचवटा शव तथा मानव अंग संकलन गर्नुका साथै रसुवागढी र त्रिशूली-३ ‘बी’ आयोजनामा उत्खनन गरी खोज तथा उद्धारकार्य भएको छ।

छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूको जनशक्ति तथा प्रविधिसहित नेपाली सेनासँग संयुक्त रूपमा टनेलहरूमा खोज तथा उद्धारकार्यमा संलग्न भएका थिए।

त्यसैगरी, भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्यका अतिरिक्त बाढी प्रभावित नागरिकको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राख्दै सेनाले त्रिशूली र धुन्चेमा आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्ती सञ्चालन गर्‍यो, जसबाट तुरुन्त बाढीबाट घाइते र अन्य गरी चार हजार तीन जनाले प्रत्यक्ष चिकित्सा सेवा प्राप्त गरे।

सुरुङ तथा भौगोलिक रूपमा विकट इलाकामा गम्भीर घाइते अवस्थामा फेलापरेका नागरिकलाई हेलिकप्टरमार्फत छाउनीस्थित वीरेन्द्र अस्पताल पुर्याएर आपत्कालीन उपचार प्रदान गरियो।

विस्थापितहरूका लागि अस्थायी आवास र होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा प्रदान गर्नुका साथै महामारी फैलन नदिन स्थानीय निकायसँगको समन्वयमा निसङ्क्रमण अपरेसन सञ्चालन गरिएको थियो।

खोज तथा उद्धारकार्य, स्वास्थ सेवा प्रदानका साथसाथै प्रभावित जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनर्स्थापनामा नेपाली सेनाले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

नुवाकोटको देवीघाटस्थित तादी नदीमा करिब ६० मिटर लम्बाइ र ६० टन भार क्षमताको एक्रो ब्रिज पाँच दिनको निरन्तर प्रयासमा जडान गरी भदौ २५ गतेदेखि सञ्चालनमा ल्याइयो।

स्याफ्रुबेँसी-चिलिमे र इन्द्रेणी घाटमा तुइन तथा काठका अस्थायी फट्के निर्माण गरिए। वेत्रावतीमा बेलीब्रिज निर्माणकार्य अगाडि बढाउने क्रममा विष्फोटक पदार्थ प्रयोग गरी पुल निर्माण गर्ने स्थानसम्म जाने बाटो निर्माण भइहेको छ।

रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा नेपाली सेनाको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रह्यो। सम्पूर्ण उद्धार अभियान प्रतिकूल र तीव्रगतिमा बदलिने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाब, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच कार्यसम्पादन गरिएको थियो।

आफ्नै परिवार तथा सैनिकसमेत विपद्बाट प्रभावित रहेको अवस्थामा पनि नेपाली सेनाले कर्तव्यलाई सर्वोच्च प्राथमिकता दिँदै नागरिकको जीवनरक्षाका लागि निरन्तर अग्रपङ्क्तिमा रही खोज तथा उद्धार कार्य सञ्चालन गरिएको छ।

विशेषतः हाइड्रोपावरको साँघुरो र जोखिमपूर्ण सुरुङभित्र करिब १७० मिटर गहिराइसम्म प्रवेश गरी लेदो, चट्टान, सीमित स्थान तथा थप जोखिमको सम्भावनाबीच गरिएको जीवित उद्धार नेपाली सेनाको अदम्य साहस, उच्च व्यावसायिक दक्षता, टोलीगत समन्वय र जोखिम वहन गर्ने सैनिक चरित्रको कारणले सम्भव भएको देखिन्छ।

राष्ट्रिय संकट व्यवस्थापनमा विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तर-निकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने सन्देश दिएको छ।

संकटको जुनसुकै कठिन घडीमा पनि अग्रपङ्क्तिमा खटिएर नेपाली सेनाले प्रदर्शन गरेको अदम्य साहस तथा मानवीय समर्पण राष्ट्रका लागि गौरव, प्रेरणा र भविष्यका विपद् प्रतिकार्यका लागि महत्त्वपूर्ण दृष्टान्तका रूपमा रहनेछ।

रसुवा बाढीपछि नेपाली सेनाद्वारा खोज, उद्धार तथा उपचार। तस्बिर : नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय

प्रकाशित: ११ असोज २०८३ १६:५६ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast