काठमाडौँ- स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५ प्रतिशत गुमाएका छन्।
अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन्।
ग्लामोस स्विस हिमनदी अनुगमन सेवा र स्विस एकेडेमी अफ साइन्सेजले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्ला पाँच वर्षमा मात्रै स्विट्जरल्यान्डका हिमनदीमा रहेको बरफको मात्रा करिब पाँचौँ भागले घटेको छ।
ग्लामोसका प्रमुख तथा हिमविज्ञानका प्राध्यापक म्याथियास हसले अल्पाइन हिमनदीहरू अहिलेको अवस्थामा लामो समयसम्म टिक्न नसक्ने बताए।
उनका अनुसार अहिले अनुभव भइरहेको तापक्रम वृद्धि पूर्ण रूपमा मानवजन्य जलवायु परिवर्तनसँग सम्बन्धित छ। मानव उत्सर्जन र जीवाश्म इन्धनको प्रयोग नभएको भए अहिलेको जस्तो तापक्रम वृद्धि हुने अवस्था नरहने उनले बताए।
जाडोयाममा पर्याप्त हिउँ नपर्नु हिमनदीका लागि विशेष चिन्ताको विषय भएको उनले बताए।
हिउँले पुरानो बरफलाई पग्लनबाट जोगाउनुका साथै उच्च उचाइमा नयाँ बरफ बन्न आवश्यक आधारसमेत तयार गर्छ। सन् २०२२ मा अत्यधिक गर्मी, कम हिमपात र सहारा मरुभूमिबाट आएको रातो धुलोका कारण स्विस हिमनदीमा अहिलेसम्मकै तीव्र बरफ क्षय भएको थियो।
यस वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म स्विट्जरल्यान्डका हिमनदीबाट करिब २२ खर्ब लिटर पानी बराबरको बरफ गुमेको अनुमान गरिएको छ। यो करिब ९१ लाख जनसंख्या भएको स्विट्जरल्यान्डको वार्षिक पानी खपतको चार गुणा हो।
स्विट्जरल्यान्डले आफ्नो आधाभन्दा बढी विद्युत् जलविद्युत्बाट उत्पादन गर्ने भएकाले हिमनदीमा भइरहेको परिवर्तन पानीका स्रोत र ऊर्जा उत्पादनसँग पनि जोडिएको छ।
स्विट्जरल्यान्डका हिमनदीमा यस वर्ष हराएको बरफको मात्रा सन् २००३ को भन्दा कम भए पनि कुल बरफको तुलनामा प्रतिशत क्षति बढी भएको विज्ञहरूले बताएका छन्।
सन् २००३ मा कुल बरफको ३.५ प्रतिशत घटेको थियो भने अहिले हिमनदीमा बाँकी बरफको मात्रा २३ वर्षअघिको करिब एक तिहाइमात्र रहेको छ।
यस वर्ष कतिपय हिमनदीको औसत मोटाइ २.५ देखि चार मिटर र केही हिमनदीको अगाडिको भागमा बरफको मोटाइ १० मिटरसम्म घटेको पाइएको छ।
एलालिन, क्लेरिडेन्ट, रोन र आल्प्स क्षेत्रको सबैभन्दा ठूलो एलेट्स हिमनदी तीव्र रूपमा बरफ गुमाउने हिमनदीमा परेका छन्।
विज्ञहरूका अनुसार हिमनदी पग्लने प्रभाव स्विट्जरल्यान्डमा मात्र सीमित छैन। स्विट्जरल्यान्डलाई युरोपको ‘पानीको टावर’ मानिन्छ र डेन्युब, पो, राइन तथा रोनजस्ता महत्त्वपूर्ण नदीका जलस्रोतमा यसको योगदान छ।
विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय, ग्रिनल्यान्ड र अन्टार्कटिकासहितका क्षेत्रमा समेत बरफ र हिमनदीमा ठूलो परिवर्तन देखिएको छ।-रासस/एपी



