पशुपतिनाथमा काव्यपुष्प अर्पण

हिमाल प्रेस ११ असोज २०८३ १६:१५ | Sunday, September 27, 2026
पशुपतिनाथमा काव्यपुष्प अर्पण

काठमाडौँ-  पशुपतिनाथको पावन परिसरमा कविहरूले शब्दका काव्यपुष्प अर्पण गर्दै श्रीपशुपतिनाथको आराधना गरेका छन्। नेपाल वेदविद्याश्रम, वनकाली, पशुपतिमा बिहीबार साँझ ‘पशुपति काव्यसाँझ’को चतुर्थ शृङ्खला आयोजना गरिएको हो।

सनातन युवाजागरणको आयोजनामा भएको काव्यसाँझ प्राध्यापक दुर्गा दाहालको सभापतित्व तथा स्वामी रमणानन्द गिरीको पावन सान्निध्यमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा डा. रामप्रसाद दाहाल तथा विशेष अतिथिका रूपमा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक डा. उमेशप्रसाद घिमिरे, पशुपति क्षेत्र विकास कोषकी सदस्य रूपा वास्तोला र नेपाल वेदविद्याश्रमका प्रधानाध्यापक अर्जुन खतिवडालगायत साहित्यकार, स्रष्टा तथा संस्कृतिप्रेमीको सहभागिता थियो।

कार्यक्रममा स्वामी रमणानन्द गिरीले विद्यार्थी तथा नवोदित कविप्रतिभाको उत्साहवर्धनका लागि काव्यसाँझ महत्वपूर्ण रहेको बताए। उनले ‘पशुपति-महिमा’ शीर्षकको कविता वाचन गर्दै पशुपति काव्यसाँझलाई निरन्तरता दिन आयोजक सनातन युवाजागरणलाई शुभकामना दिए।

पशुपति क्षेत्र विकास कोषमा विभिन्न जिम्मेवारी सम्हालिसकेका प्रमुख अतिथि डा. रामप्रसाद दाहालले युवा कविप्रतिभाको सक्रियता प्रशंसनीय रहेको बताए। उनले काव्यसाँझलाई आवश्यक सहयोग गर्न आफू सदैव तत्पर रहेको उल्लेख गर्दै ‘पशुपति काव्यसाँझलाई सम्झँदा’ शीर्षकको कविता तथा स्वरचित राष्ट्रवादी गीत प्रस्तुत गरे।

सभाध्यक्ष प्राध्यापक दुर्गा दाहालले पशुपति काव्यसाँझको पृष्ठभूमि, उद्देश्य र प्रयोजनबारे प्रकाश पार्दै काव्य वाचन गरे। उनले मासिक रूपमा सञ्चालन हुँदै आएको काव्याराधनामा साहित्यप्रेमी तथा कविहरूलाई सहभागी हुन आह्वान गरे।

कार्यक्रममा अनन्तनारायण भट्टराई, अर्जुन खतिवडा, मुकुन्दराज दाहाल, मातृका भण्डारी ‘मुना’, महेश्वर खनाल, कल्पना मरासिनी, कल्पना काफ्ले, अर्जुन बाबु दाहाल, सुशीला शर्मा, सृजना सरोवर, कमला पौडेल, योगराजराजन कविराज, विभूति अधिकारी, रोशन पन्त, रविन धमला, सुशील आचार्य, अनुमोदन न्यौपाने, दीपेश फुँयाल, प्रवीण काफ्ले, रविना कण्डेल, रोशन रिजाल, रुसिस त्रिपाठी, रमला कुमारी पौडेल, सम्पन्न तिमल्सिना र सदाशय गौतमलगायत कवि–कवयित्रीले कविता वाचन गरेका थिए।

कविता, भक्ति, संस्कृति र युवापुस्ताको सिर्जनशीलतालाई एउटै थलोमा जोडेको काव्यसाँझको सहजीकरण तथा सञ्चालन नेपाल वेदविद्याश्रमका पूर्वविद्यार्थी एवं वर्तमान अध्यापक कवि अञ्जन ढुङ्गेलले गरेका थिए।

पशुपतिनाथको पावन परिसरमा गुञ्जिएका कविताका स्वरले काव्यसाँझलाई केवल कविता वाचनको कार्यक्रम नभई श्रद्धा, सिर्जना र सनातन संस्कृतिको संगम बनाएको आयोजकले जनाएको छ।

प्रकाशित: ११ असोज २०८३ १६:१५ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast