पोखरा- नेपालमा तीन दिनयताको लगातारको वर्षाले सबैभन्दा बढी गण्डकी प्रदेशमा मानवीय क्षति भएको छ। साथै, भौतिक क्षति पनि उत्तिकै छ। गण्डकीमा प्रदेशमा यस अवधिमा १८ जना मानिसले बाढीपहिरोमा परी ज्यान गुमाए भने चार जना बेपत्ता भएका छन्। तीन जना घाइते भएका छन्।
नेपाल प्रहरी कार्यालय गण्डकी प्रदेशले संकलन गरेको क्षतिको विवरणअनुसार सबैभन्दा बढी मानवीय क्षति बागलुङ जिल्लामा भएको छ। बागलुङमा मात्रै १० जनाको मृत्यु भएको हो। म्याग्दीमा ६ र मनाङमा २ जनाले अकालमा ज्यान गुमाए। क्षतिको विवरण सोमबार रातिसम्मै संकलन भइरहेको गण्डकी प्रदेश कार्यालयले जनाएको छ।
कालीगण्डकी र मस्र्याङ्दी नदीले ठाउँठाउँमा कटान गरी क्षति पुर्याएका छन्। पोखरा-बागलुङ भूपी शेरचन राजमार्ग, पोखरा-सुनौली सिद्धार्थ राजमार्ग तथा पोखरा-नौबिसे पृथ्वी राजमार्गका विभिन्न सडकखण्डमा पहिरो खस्दा आवतजावतमा समस्या भएको छ।
कालीगण्डकी नदीमा बनेको पर्वत-बागलुङ जोड्ने मालढुंगाको पुल बाढीले भत्किएको छ। कालीगण्डकीको बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७, मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पक्की पुल बगाएको छ। पुल बगाउँदा आवतजावतमा समस्या उत्पन्न भएको छ। ठाउँ-ठाउँमा बिजुलीका टावरमा क्षति हुँदा टेलिफोन सम्पर्क हुन सकेको छैन।
एकै परिवारका ४ जनाको मृत्यु
अविरल वर्षासँगै घरमाथिको ढिस्को खस्दा बागलुङको निसीखोला-३ कि ३६ वर्षीया श्यामकुमारी विक, उनका ३ छोराहरुले ज्यान गुमाए। राति सुतिरहेको बखत आइतबार बिहान करिब पौने ४ बजे उनीहरुलाई पहिरोले पुरेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल सुवेदीले जानकारी दिए।
घटनामा श्यामकुमारीका १३ वर्षीय छोरा मनोज, ९ वर्षीय उकेश र ३ वर्षीय निशान विकको मृत्यु भएको हो। श्यामकुमारीकी जेठी छोरी १४ वर्षीया मुस्कान हजुरबुबा-हजुरआमाको घर गएकाले बाँच्न सफल भइन्। एकैघरका चार जनाको अकल्पनीय निधनले गाउँ नै शोकमा डुबेको छ। आफन्तको रोहवरमा मृतकको पोस्टमार्टम गरी आइतबार नै अन्त्येष्टि गरिएको छ।
यसैगरी, आइतबार नै तमानखोला गाउँपालिका-३ का ८० वर्षीय बुद्धिराज घर्ती, ६५ वर्षीय भीम घर्तीको मृत्यु भएको छ। तमानखोला-४ का ५० वर्षीय हस्तवीर श्रीपालीले पहिरोमा परी ज्यान गुमाए भने उनी श्रीमती बेपत्ता छिन्। सोही ठाउँकी ६५ वर्षीय उदिनसरा विक श्रीपालीको पनि ज्यान गएको छ। निसिखोला-६ मा ५० वर्षीय सूर्यबहादुर घर्ती मगरको पनि पहिरोले ज्यान लगेको छ। दुई दिनअघि ताराखोला गाउँपालिका ५ मा पहिरोमा परेर ६५ वर्षीय मनबहादुर विकको मृत्यु भएको थियो।
उता, म्याग्दीमा पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका, मालिका गाउँपालिका र बेनी नगरपालिकामा गएको पहिरोमा उक्त मानवीय क्षति भएको हो।
१७९ घरमा पूर्ण क्षति
गण्डकी प्रदेशका विभिन्न ११ जिल्लामध्ये तीन दिनयताको बाढी पहिरो र डुबानमा परेर १ सय ७९ घरमा पूर्ण रुपमा क्षति पुगेको छ। त्यस्तै, २६ घरमा आंशिक क्षति पुगेको छ भने २ सय ७० घर जोखिममा छन्।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी पर्वतमा १०६ घर पूर्णरुपमा क्षति भएका छन्। कालीगण्डकी नदीको बहाव बढ्दा पर्वतको जलजला गाउँपालिका ८ स्थित फर्सेमा झन्डै सय घरमा क्षति पुगेको हो।
पर्वतपछि घरहरु क्षतिमा सबैभन्दा बढी बागलुङका २३ वटा छन्। नवलपुरमा १५, स्याङ्जामा १३, तनहूँमा १०, म्याग्दीमा ६, मनाङमा ४, कास्की र लमजुङमा एक-एक घरमा क्षति पुगेको छ। पर्वतमा ८२ घर जोखिममा छन्।
यसैगरी, गण्डकी प्रदेशमा ६ पुल पूर्णरुपमा क्षति भए भने २ पुलमा आंशिक क्षति छ। तनहुँ, गोरखा, स्याङ्जा, मनाङ, पर्वत र म्याग्दीमा एक-एक पुल क्षति भएका हुन्। सरकारी कार्यालयतर्फ, कास्की, गोरखा र स्याङ्जामा एकएक सरकारी कार्यालयमा पूर्णरुपमा क्षति भएको छ। प्रदेशभर ९ सरकारी कार्यालय बाढीपहिरोको जोखिममा छन्।
१४५१ जना विस्थापित
बाढीपहिरोको उच्च जोखिमका कारण गण्डकी प्रदेशभर ४ सय १९ घरका १ हजार ४ सय ५१ जना मानिस विस्थापित हुन बाध्य भएका छन्। सबैभन्दा धेरै नवलपुरमा १ सय ६२ घरमा ६ सय १३ जना र पर्वतमा १ सय ६२ घरका ५ सय ४० जना मानिस विस्थापित भएका छन्। स्याङ्जामा २३ घरका ७२ जना, गोरखामा १३ घरका ४३ जना, तनहुँमा १८ घरका ५४ जना, म्याग्दीमा ४ घरका ११ जना, कास्कीमा ३ घरका १० जना मानिस विस्थापित छन्।




