राहत शिक्षकद्वारा प्रोत्साहन भत्ता माग गर्दै शिक्षामन्त्रीको ध्यानाकर्षण

हिमाल प्रेस ९ असोज २०८३ ८:२० | Friday, September 25, 2026
386
SHARES
राहत शिक्षकद्वारा प्रोत्साहन भत्ता माग गर्दै शिक्षामन्त्रीको ध्यानाकर्षण शिक्षामन्त्री सस्मित पोखरेल।

काठमाडौँ- राहत तथा करार शिक्षक संघर्ष समितिले प्रोत्साहन भत्तासहित सेवासुविधा उपलब्ध गराउन माग गर्दै शिक्षा, खेलकुद तथा प्रविधिमन्त्री सस्मित पाेखरेलको ध्यानाकर्षण गराएको छ।

सामुदायिक विद्यालयमा जनशक्तिको अभाव पूरा गर्दै लामो समयदेखि योगदान पुर्‍याउँदै आएका राहत तथा करार शिक्षकलाई सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता तथा अन्य सुविधाबाट वञ्चित गरिएको भन्दै समितिले मन्त्रालयको ध्यानाकर्षण गराएको हो।

स्थायी शिक्षकसरह समान कार्यबोझ र जिम्मेवारी वहन गर्दै आए पनि आफ्ना मागप्रति मन्त्रालय मौन रहेको समितिको भनाइ छ। यसले शिक्षकको मनोबलमा समेत असर परेको समितिले जनाएको छ।

समितिले सरकारसमक्ष पूर्वसहमति र व्यवस्था अनुसार उपलब्ध गराउनुपर्ने प्रोत्साहन भत्ता तत्काल निकासा तथा वितरण गर्न माग गरेको छ।

त्यस्तै, सरकार र शिक्षक महासंघ तथा विभिन्न शिक्षक संघसंगठनबीच भएका पूर्वसहमतिको पूर्ण पालना गर्दै नीतिगत स्पष्टता ल्याउन पनि समितिले माग गरेको छ।

समान कामका लागि समान सुविधाको सिद्धान्त कार्यान्वयन गर्दै मर्यादित कार्य वातावरण सुनिश्चित गर्नुपर्ने तथा राहत र करार शिक्षकले भोग्दै आएको आर्थिक तथा मानसिक समस्यालाई ध्यानमा राखी मन्त्रालयस्तरबाट शीघ्र आधिकारिक निर्णय वा सूचना सार्वजनिक गर्नुपर्ने समितिको माग छ।

विवाद र आन्दोलनभन्दा संवाद तथा सहकार्यलाई प्राथमिकता दिएको जनाउँदै समितिले स्थिति थप जटिल बन्नुअघि नै आफ्ना माग सम्बोधन हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित: ९ असोज २०८३ ८:२० | Friday, September 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast