काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले देशका विभिन्न स्थानमा भारी वर्षा, हिमपात, हावाहुरी तथा चट्याङको सम्भावना रहेकाले विद्यालय बिदा गर्न र विश्वविद्यालय तहका परीक्षा आवश्यकतानुसार स्थगित गर्न आग्रह गरेको छ।
मन्त्रालयले बुधबार शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र जारी गर्दै असोज ९, १० र ११ गतेसम्म जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित निकायबाट अत्यधिक वर्षाको पूर्वानुमान रहेकाले आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिएको हो।
परिपत्रमा वर्षासँगै बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको उल्लेख गर्दै विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय तहले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार असोज ९ र १० गते विद्यालय बिदा गराउन, विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायले असोज ९ देखि ११ गतेसम्मका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न तथा सुरक्षित विद्यालय भवनलाई आवश्यक परे अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सहयोग गर्न अनुरोध गरेको छ।
यस्तै, अभिभावकलाई बालबालिकालाई नदी, खोला, पहिरो तथा अन्य जोखिमयुक्त स्थानमा जान नदिन पनि मन्त्रालयले आग्रह गरेको छ।
मौसम सफा भएपछि मात्रै विद्यालय सञ्चालन गर्न मन्त्रालयको निर्देशन छ।


