काठमाडौँ- शैक्षिक अभियन्ता रमेशबाबु भट्टराईले लोकतान्त्रिक अभ्यासमा सहभागी भएका शिक्षकलाई राजनीतिक रंग दिएर अपमान गर्ने प्रयासको विरोध गरेका छन्।
उनले शिक्षकलाई हिलो छ्याप्ने, आक्रमण गर्ने तथा अमर्यादित भाषा प्रयोग गर्ने प्रवृत्तिको भर्त्सना गर्दै आवश्यक परे त्यसको प्रतिकार गर्ने बताएका हुन्।
भट्टराईले शिक्षकहरूलाई लोकतान्त्रिक अभ्यासबाट अलग राख्न खोज्नु शिक्षण पेसाप्रतिकै अपमान भएको बताए। उनले भने, ‘लोकतान्त्रिक अभ्यासको पाठ सिकाउँदा आक्रमण गरे प्रतिकार गर्छु।’
शिक्षकहरूले पढाउने कामसँगै समाजमा विभिन्न सामाजिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले शिक्षकलाई समाजको सचेत वर्गका रूपमा चित्रण गरेका छन्।
उनका अनुसार विगतमा शिक्षकहरूले समाजमा हुने झगडा मिलाउने, निवेदन तथा चिठीपत्र लेखिदिने र पीडितलाई सहयोग गर्ने लगायतका सामाजिक दायित्वसमेत निर्वाह गर्दै आएका छन्।
‘शिक्षकले पढाउने मात्र काम गरेको भए यो समाज आज यहाँसम्म आउन कठिन थियो,’ उनले भने, ‘शिक्षक सचेत वर्ग हो। समाजमा झगडा मिलाउने, निवेदन लेखिदिने, विगतमा चिठीपत्र लेख्ने र पीडित व्यक्तिका लागि सहयोग गर्ने कामसमेत शिक्षकले गर्दै आएका छन्।’
सरकारले विधिवत् रूपमा मान्यता दिएको संस्थाको लोकतान्त्रिक अभ्यासलाई पूर्णता दिन शिक्षकले सहजीकरण गर्दा त्यसलाई लिएर विवाद गर्नु उचित नभएको उनको भनाइ छ। शिक्षकले दलको झण्डा बोक्न वा दलको सदस्यता लिन नहुने भन्दै रमेशबाबुले त्यस्तो अवस्था भए कानुनबमोजिम कारबाही हुनुपर्ने बताए।
तर बिदाको दिन सामाजिक दायित्व निर्वाह गर्ने वा लोकतान्त्रिक अभ्यासमा सहभागी हुने शिक्षकलाई राजनीतिक रंग दिएर गालीगलौज गर्नु आम शिक्षक र शिक्षण पेसामाथिको आक्रमण भएको भट्टराईले बताए।
‘शिक्षकले सामाजिक भावना राखेर स्वयंसेवक बन्न सक्छ। समाजमा लोकतान्त्रिक अभ्यास गर्ने पाठ सिकाउन सक्छ। त्यसमा अपमान किन?’ उनले प्रश्न गरे।
भट्टराईले शिक्षकलाई मात्रै राजनीतिक गतिविधिबाट टाढा राख्ने प्रयासप्रति प्रश्नसमेत उठाएका छन्।
प्रधानमन्त्री, शिक्षामन्त्री, गृहमन्त्रीलगायत मन्त्रीहरू सरकारका प्रतिनिधि भएको र राज्यबाट पारिश्रमिक लिने भए पनि उनीहरू राजनीतिक दलका कार्यक्रममा सहभागी हुने गरेको भन्दै उनले शिक्षकलाई सामाजिक तथा लोकतान्त्रिक गतिविधिमा सहभागी हुँदा आपत्ति जनाउनुको औचित्यबारे प्रश्न गरेका छन्।
त्यस्तै, विभिन्न आयोगका पदाधिकारी, मन्त्रालयका सल्लाहकार तथा कर्मचारी नियुक्तिमा राजनीतिक दलसँग आबद्ध व्यक्तिहरूको संलग्नताबारे पनि उनले प्रश्न उठाएका छन्।
‘शिक्षक सहजकर्ता हुँदा आपत्ति हुने तर मन्त्रीहरू राजनीतिक कार्यक्रममा सहभागी हुँदा छुट किन?’ भट्टराईले प्रश्न गरे।
भट्टराईले समाजमा दुसित, दिग्भ्रमित र प्रतिशोधपूर्ण प्रवृत्ति बढ्दै गएको बताए। उनले शिक्षकहरूलाई समेत मलामी जान डराउनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरे।
‘अब त शिक्षक मलामी जान पनि डर भो! पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँछन्। अनि शिक्षक यो पार्टीको झण्डा र यो पार्टीको नेताको दाहसंस्कारमा किन गएको भनेर मानवता र संवेदनशीलता हराएको कमेन्ट नआउला भन्न सकिएन,’ भट्टराईले भने।
उनले शिक्षकहरूले लोकतान्त्रिक अभ्यासमा पुर्याएको योगदानको कदर गर्दै शिक्षण पेसाप्रति सम्मानजनक व्यवहार गर्न आग्रह गरेका छन्।
गलत भाष्य निर्माण गरेर शिक्षकको अपमान नगर्न आग्रह गर्दै उनले सभ्य समाज निर्माणका लागि शिक्षकको भूमिकालाई सम्मान गर्नुपर्ने बताए।
गत साउनमा प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को गीतमा शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएकोले त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको भन्दै भट्टराईले प्रशासनमा उजुरी समेत दिएका थिए। चौतर्फी विरोध र आलोचनापछि उक्त गीत युट्युबबाट हटाइएको थियो र चलचित्र पनि फ्लप भएको थियो।


