काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले पछिल्लो विपद्का कारण मुलुकको शिक्षा क्षेत्रमा परेको प्रभाव, विपद्पछिको पुनःस्थापना तथा आगामी प्राथमिकताका विषयमा विकास साझेदारहरूसँग छलफल गरेको छ।
सिंहदरबारमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलको उपस्थितिमा आयोजित उक्त बैठकमा बाढी, पहिरो तथा अन्य विपद्का कारण प्रभावित बनेका विद्यालय र विद्यार्थीहरूलाई कसरी चाँडोभन्दा चाँडो सहजीकरण गर्ने भन्ने विषयमा केन्द्रित रहेर विचार-विमर्श गरिएको थियो।
उक्त बैठकमा विपद् प्रभावित क्षेत्रका विद्यालयहरूको पुनर्निर्माण, विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक सामग्रीको प्रबन्ध, मानसिक स्वास्थ्य सहयोग तथा स्रोत परिचालनका विषयमा छलफल भएको छ।
मन्त्रालयले विपद्को यस कठिन घडीमा शैक्षिक सत्रलाई निरन्तरता दिन र क्षति भएका पूर्वाधारहरूको पुनःस्थापना गर्नका लागि अन्तर्राष्ट्रिय तथा स्थानीय विकास साझेदारहरूसँग प्रभावकारी समन्वय र सहकार्यका लागि आह्वान गरेको छ।


