शिक्षक कर्मचारीको आवाज नसुने शिक्षा सुधार सम्भव छैन : शंकर अधिकारी

हिमाल प्रेस १० साउन २०८३ १५:३६ | Sunday, July 26, 2026
216
SHARES
शिक्षक कर्मचारीको आवाज नसुने शिक्षा सुधार सम्भव छैन : शंकर अधिकारी

काठमाडौँ- नेपाल शिक्षक संगठनका संयोजक शंकर अधिकारीले शिक्षा मन्त्रालयले शिक्षक तथा विद्यालय कर्मचारीहरूको साझा नेतृत्वलाई निरन्तर बेवास्ता गरे आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएका छन्।

उनले शिक्षा मन्त्रालयले शिक्षक महासंघ र त्यसअन्तर्गतका घटक संस्थाहरूलाई संवादका लागि स्वीकार नगरेको आरोप लगाउँदै यसले शिक्षा क्षेत्रको गुणस्तर सुधारमा समेत नकारात्मक असर पर्ने बताए।

आइतबार अधिकारीले विद्यालय कर्मचारी, राहत शिक्षक, बालविकास शिक्षक (ईसीडी) कर्मचारी तथा शिक्षण सिकाइ अनुदानका शिक्षकहरूको समस्या समाधानका लागि पटकपटक ध्यानाकर्षण, डेलिगेसन र चेतावनीपत्र बुझाइए पनि सरकारले कुनै सुनुवाइ नगरेको बताए।

उनले अहिले शिक्षा मन्त्रालयले संवाद गर्न नचाहेकाले सामाजिक सञ्जाल, संस्थागत विज्ञप्ति तथा सार्वजनिक कार्यक्रममार्फत सरकारको ध्यानाकर्षण गराइरहेको उल्लेख गरे। राष्ट्रिय परिषद् बैठकबाट महासंघको नयाँ विधान पारित भएपछि आन्दोलनको नयाँ रणनीति तय गरिने र आवश्यक परे सरकारविरुद्ध सशक्त आन्दोलन घोषणा गरिने उनको भनाइ छ।

सरकारले विद्यालय सुधारका नाममा ल्याएको नियमावली संशोधनप्रति असन्तुष्टि जनाउँदै अधिकारीले विद्यालय सुधारका लागि शिक्षक, कर्मचारी र उनीहरूका प्रतिनिधिलाई निर्णय प्रक्रियाबाट बाहिर राख्न नहुने बताए। विद्यालय व्यवस्थापन, स्थानीय सरकार र शिक्षक महासंघबीच सहकार्यबिना गुणस्तरीय शिक्षा सम्भव नहुने उनको धारणा छ।

अधिकारीले २९ दिने शिक्षक आन्दोलनको समीक्षा भइरहेको जानकारी दिँदै त्यसबाट भएका कमजोरी सुधारेर आगामी आन्दोलन अझ व्यवस्थित र प्रभावकारी बनाइने बताए। आन्दोलन किन अपेक्षित रूपमा सफल हुन सकेन भन्ने विषयमा समीक्षा गरिएको र शिक्षक तथा कर्मचारीको विश्वास पुनः जित्दै नयाँ ढंगबाट अघि बढ्ने तयारी भइरहेको उनले बताए।

उनले शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई ट्रेड युनियन अधिकारको रक्षा गर्न एकताबद्ध हुन आग्रह गर्दै नेतृत्वमा कमजोरी भए सुधार गर्न सकिने तर संगठन नै कमजोर बनाइए अधिकार नै गुम्ने चेतावनी दिए।

प्रकाशित: १० साउन २०८३ १५:३६ | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast