शिक्षण संस्थामा आर्थिक समस्या गहिरिँदै, विद्यार्थी पलायन अर्को चुनौती

हिमाल प्रेस १० असार २०८३ १३:१४ | Wednesday, June 24, 2026
38
SHARES
शिक्षण संस्थामा आर्थिक समस्या गहिरिँदै, विद्यार्थी पलायन अर्को चुनौती तस्बिर एआई निर्मित

काठमाडौँ- राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार जारी गरेको सर्वेक्षण २०८३/८४ अनुसार देशभरका शिक्षण संस्थाको भौतिक पूर्वाधार, खर्च, शुल्क, तलब तथा सञ्चालनका चुनौती देखिएको छ।

उच्च शिक्षा तथा प्राविधिक शिक्षण संस्थाहरूले विशेषगरी विद्यार्थी सङ्ख्या घट्दै जानु र वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीको सङ्ख्या बढ्दै जानुलाई प्रमुख चुनौतीका रूपमा लिएको सर्वेक्षणले जनाएको छ।

सर्वेक्षणअनुसार देशभरका १० हजार ४११ शिक्षण संस्थामा २८ हजार २३५ भवन र १ लाख ८३ हजार ८४६ कक्षाकोठा रहेका छन्। प्रति शिक्षण संस्थामा औसत १७.७ कक्षाकोठा रहेको पाइएको छ।

करिब ३ प्रतिशत कक्षाकोठामा वातानुकूलन (एसी) सुविधा रहेको तथ्यांकले देखाएको छ। विद्यार्थीका लागि सवारी साधन उपलब्ध गराउने संस्थाको सङ्ख्या पनि उल्लेख्य रहेको छ। सबैभन्दा बढी बागमती प्रदेशमा यस्ता सुविधा रहेका छन्।

सर्वेक्षणले सरकारी स्वामित्वका शिक्षण संस्थाहरूको वार्षिक सञ्चालन खर्च औसत १ करोड २२ लाख रुपैयाँ रहेको देखाएको छ। प्रदेशगत रूपमा सबैभन्दा बढी खर्च बागमती प्रदेशमा वार्षिक २ करोड १२ लाख रुपैयाँ रहेको छ।

त्यसपछि गण्डकी प्रदेशमा १ करोड २० लाख, लुम्बिनीमा १ करोड ४ लाख, कोशीमा ८९ लाख, मधेशमा ७० लाख, कर्णालीमा ६४ लाख तथा सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ६३ लाख रुपैयाँ खर्च हुने गरेको पाइएको छ।

शैक्षिक तहअनुसार हेर्दा उच्च शिक्षाका संस्थाहरूको औसत वार्षिक खर्च सबैभन्दा बढी २ करोड ९ लाख रुपैयाँ रहेको छ। माध्यमिक तह (कक्षा ९-१२) मा १ करोड ८८ लाख तथा प्राविधिक तथा व्यावसायिक शिक्षामा १ करोड १७ लाख रुपैयाँ खर्च हुने गरेको देखिएको छ। पूर्वप्राथमिक तथा प्राथमिक तहका संस्थाहरूमा खर्च तुलनात्मक रूपमा कम रहेको प्रतिवेदनमा उल्लेख छ।

शिक्षण शुल्कतर्फ सरकारीबाहेकका संस्थाहरूमा औसत मासिक शुल्क ३ हजार ३ सय रुपैयाँ रहेको छ। प्रदेशगत रूपमा सबैभन्दा बढी बागमती प्रदेशमा औसत ५ हजार १ सय रुपैयाँ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा करिब २ हजार रुपैयाँ शुल्क रहेको पाइएको छ। उच्च माध्यमिक, प्राविधिक तथा उच्च शिक्षा तहमा शुल्क दर अझ बढी रहेको प्रतिवेदनले जनाएको छ।

सरकारीबाहेकका शिक्षण संस्थामा शिक्षक तथा कर्मचारीलाई प्रदान गरिने औसत मासिक तलब तथा भत्ता १६ हजार ३ सय रुपैयाँ रहेको छ। सबैभन्दा बढी बागमती प्रदेशमा औसत १९ हजार ६ सय रुपैयाँ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा १२ हजार ४ सय रुपैयाँ तलब तथा भत्ता रहेको तथ्यांकले देखाएको छ। उच्च शिक्षा तथा प्राविधिक शिक्षण संस्थामा कार्यरत शिक्षक कर्मचारीको पारिश्रमिक विद्यालय तहको तुलनामा बढी रहेको पाइएको छ।

सर्वेक्षणअनुसार करिब १० लाख ८० हजार विद्यार्थीले विद्यालय यातायात सेवा प्रयोग गर्ने गरेका छन्। त्यस्तै, करिब ४६ हजार २ सय विद्यार्थी छात्रावासमा बस्ने तथा ४७ हजार ९ सय विद्यार्थी दिवा आवासीय सेवामा अध्ययन गर्ने गरेको पाइएको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत योगदान गर्ने सरकारी स्वामित्वका शिक्षण संस्थाको अनुपात ३४.८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

शिक्षण संस्थाले भोगिरहेका प्रमुख समस्यामध्ये आर्थिक समस्या सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको छ। करिब ७१ प्रतिशत संस्थाले आर्थिक कठिनाइलाई पहिलो समस्या मानेका छन् भने ४२ प्रतिशतले वित्तीय समस्या, २८ प्रतिशतले विद्यार्थी, अभिभावक तथा समुदायको जागरुकतासम्बन्धी समस्या, २४ प्रतिशतले भौतिक पूर्वाधारको अभाव र १८ प्रतिशतले आन्तरिक व्यवस्थापनसम्बन्धी समस्या औँल्याएका छन्।

प्रकाशित: १० असार २०८३ १३:१४ | Wednesday, June 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast