निजी शिक्षण संस्थामा ३७ लाख बढी विद्यार्थी अध्ययनरत, व्यवस्थापन संकायमा आकर्षण

हिमाल प्रेस १० असार २०८३ ११:२३ | Wednesday, June 24, 2026
16
SHARES
निजी शिक्षण संस्थामा ३७ लाख बढी विद्यार्थी अध्ययनरत, व्यवस्थापन संकायमा आकर्षण ललितपुरस्थित नाइटिंगेल कलेजका विद्यार्थीहरू। तस्बिर कजेजको फेसबुक पेजबाट।

काठमाडौँ- सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूको मुख्य हिस्सा विद्यालय तहमा रहेको पाइएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको नेपाल शिक्षा संस्था सर्वेक्षण २०८३/८४ अनुसार शैक्षिक सत्र २०८०/८१ मा पूर्वप्राथमिक तहदेखि उच्च शिक्षासम्म गरी कुल ३७ लाख ४१ हजार विद्यार्थी अध्ययनरत रहेका छन्।

तीमध्ये पूर्वप्राथमिक तहमा करिब ९ लाख ३२ हजार, आधारभूत शिक्षा (कक्षा १–८) मा १८ लाख ६४ हजार र माध्यमिक तह (कक्षा ९–१२) मा करिब ४ लाख ९१ हजार विद्यार्थी अध्ययनरत रहेको तथ्यांकले देखाएको छ।

उच्च शिक्षा तहमा सामुदायिक शिक्षण संस्थामा करिब २ लाख २१ हजार तथा निजी शिक्षण संस्थामा करिब २ लाख ४५ हजार गरी कुल ४ लाख ६६ हजार ८०५ विद्यार्थी अध्ययनरत रहेको पाइएको छ। यस्तै, प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रि–डिप्लोमा तथा डिप्लोमा तहमा ३५ हजार ६८८ विद्यार्थी अध्ययनरत छन्।

सर्वेक्षणका अनुसार उच्च शिक्षा अध्ययन गर्ने कुल विद्यार्थीमध्ये २ लाख १४ हजार ९९७ जना अर्थात् करिब ४६ प्रतिशत विद्यार्थी बागमती प्रदेश मा अध्ययनरत छन्।

संकायगत रूपमा हेर्दा व्यवस्थापन तथा वाणिज्य संकाय सबैभन्दा लोकप्रिय देखिएको छ। यस संकायमा २ लाख ३६ हजार ५८१ विद्यार्थी (करिब ५१ प्रतिशत) अध्ययनरत छन्।

त्यसपछि शिक्षा संकायमा १ लाख १२ हजार ७७६ विद्यार्थी (करिब २४ प्रतिशत), मानविकी तथा सामाजिक शास्त्रमा ४१ हजार ९ जना (करिब ९ प्रतिशत), विज्ञान तथा प्रविधिमा ३६ हजार १५९ जना (करिब ७ प्रतिशत), इन्जिनियरिङमा २१ हजार ७३९ जना (करिब ४ प्रतिशत) तथा अन्य संकायमा १८ हजार ५४२ विद्यार्थी (करिब ३ प्रतिशत) अध्ययनरत रहेका छन्।

प्रदेशगत रूपमा हेर्दा कर्णाली प्रदेशबाहेक सबै प्रदेशमा व्यवस्थापन तथा वाणिज्य संकायमा अध्ययन गर्ने विद्यार्थीको संख्या सबैभन्दा बढी रहेको पाइएको छ। तर कर्णालीमा भने फरक प्रवृत्ति देखिएको छ।

त्यहाँ उच्च शिक्षा अध्ययनरत कुल १५ हजार ७२६ विद्यार्थीमध्ये १० हजार ९६२ जना अर्थात् करिब ७० प्रतिशत विद्यार्थी शिक्षा संकायमा अध्ययनरत रहेको सर्वेक्षणले जनाएको छ।

सर्वेक्षणले निजी तथा गैरसरकारी शिक्षण संस्थाहरूमा विद्यालय तहको विद्यार्थी संख्या अत्यधिक रहेको तथा उच्च शिक्षामा व्यवस्थापन र वाणिज्य विषयप्रति विद्यार्थीको आकर्षण सबैभन्दा बढी रहेको देखाएको छ।

प्रकाशित: १० असार २०८३ ११:२३ | Wednesday, June 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast