काठमाडौँ महानगरले बाल शिक्षकसहितलाई दियो विद्यार्थी मूल्यांकन र नतिजा अभिलेखनसम्बन्धी तालिम

हिमाल प्रेस ९ असार २०८३ ११:४३ | Tuesday, June 23, 2026
18
SHARES
काठमाडौँ महानगरले बाल शिक्षकसहितलाई दियो विद्यार्थी मूल्यांकन र नतिजा अभिलेखनसम्बन्धी तालिम

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा ४ र ५ मा अध्यापन गराउने शिक्षकका लागि विद्यार्थी मूल्यांकन र नतिजा अभिलेखनसम्बन्धी दुई दिने तालिमअन्तर्गत पहिलो चरणमा १८० जनालाई शिक्षकलाई प्रशिक्षित गरेको छ। आउँदो आइतबार थप १८० जनालाई तालिम प्रदान गर्ने शिक्षा विभागको योजना छ।

सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी कार्ययोजनाअन्तर्गतको ८९ औँ बुँदामा उल्लेख भएको कक्षा ४ र ५ का विद्यार्थीको नियमित मूल्यांकनसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न तालिम सञ्चालन गरेका हौँ। पहिलो चरणको तालिम समापन गर्दै शिक्षा विभागका प्रमुख नमराज ढकालले भने, ‘तालिमले शिक्षकलाई मूल्यांकन प्रणालीका विषय स्पष्टता कायम गरेको छ। आत्मविश्वाश जगाएको छ।’

‘शिक्षकहरूको उत्कृष्ट तथा नवीन अभ्यासहरूको आदानप्रदान, पाठ्यक्रमको परिचय र संरचना’, ‘विषयगत पाठ्यक्रम र तिनका विशेषता’, ‘नविनतम शिक्षण विधिको प्रयोग’, ‘विद्यार्थी मूल्यांकनका सम्भाव्य तरिका र साधनहरूको प्रयोग’, ‘सिकाइ उपलब्धि मूल्यांकन अभिलेख फारामको प्रयोग’, ‘जीपीए गणना र विद्यार्थीको प्रगति प्रतिवेदनको नमुना तयारी’ लगायत विषय तालिममा समावेश गरिएको थियो। तालिम सहजकर्ता सीता पाण्डेका अनुसार स्रोत शिक्षकलाई स्रोत व्यक्तिका रूपमा राखेर तालिम सञ्चालन गरिएको हो।

महानगरपालिकाले चालु आर्थिक वर्षको यस अवधिमा १ हजार ६४६ जना शिक्षकलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ। यसमा बाल विकास सहजकर्ता (ईसीडी) मा १२४ जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्शसम्बन्धी तालिममा १३४ जना, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ १६४ जना, संस्थागततर्फ ११६ जना र विद्यार्थी मूल्यांकन तथा नतिजा अभिलेखनमा १८० जनालाई तालिम प्रदान गरिएको हो।

सूचना तथा प्रविधिसम्बन्धी तालिममा ३८५ जना, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्यांकन र विषयगत रूपमा प्रश्नपत्र निर्माण तथा विद्यार्थी मूल्यांकनसम्बन्धी तालिममा ४६० जना र प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीको अपांगता पहिचानसम्बन्धी तालिममा ८३ जना शिक्षक सहभागी भए। असार महिनामा विद्यार्थी मूल्यांकन तथा नतिजा अभिलेखन सम्बन्धी थप १८० जना शिक्षकलाई तालिम दिने योजना छ।

प्रकाशित: ९ असार २०८३ ११:४३ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast