सुर्खेत- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षालाई समयसापेक्ष, प्रविधिमैत्री र रोजगारमुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले विश्वविद्यालयको पाठ्यक्रमलाई आधुनिक आवश्यकता र श्रम बजारसँग जोड्न आवश्यक बजेट, पूर्वाधार तथा जनशक्तिको व्यवस्थाका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए।
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई बुधबार सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई राष्ट्रिय विकासको आधारशिला बनाउनुपर्ने बताए। उनले विश्वविद्यालयहरूले स्थानीय स्रोत, सम्भावना र आवश्यकतालाई केन्द्रमा राखेर अनुसन्धान तथा नवप्रवर्तनलाई अघि बढाउनुपर्ने बताए।
कर्णाली प्रदेशमा प्रशस्त मात्रामा उपलब्ध जलस्रोत, वन सम्पदा, जडीबुटी, पर्यटन तथा सांस्कृतिक सम्पदाको अध्ययन–अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उनले यस्ता क्षेत्रले प्रदेशको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखे।
मन्त्री पोखरेलले मध्यपश्चिम विश्वविद्यालयले स्थापनायता अनुसन्धानमूलक शिक्षा, डिजिटल प्रविधिको प्रयोग, खेलकुद र नवीनतम शैक्षिक अभ्यासको प्रवर्द्धनमा उल्लेखनीय योगदान दिएको भन्दै प्रशंसा गरे।
उनले विश्वविद्यालय कर्णालीको मात्र नभई समग्र देशकै शैक्षिक गौरवका रूपमा स्थापित हुँदै गएको बताए। उनले प्राप्त ज्ञान र सीपलाई व्यक्तिगत उन्नतिमा मात्र सीमित नराखी समाज र राष्ट्र निर्माणमा प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरे।
उनले गरिबी, बेरोजगारी, स्वास्थ्य समस्या, जलवायु परिवर्तन, सूचना प्रविधि तथा जैविक विविधताजस्ता समसामयिक विषयमा समाधान खोज्न शिक्षित युवाको भूमिका निर्णायक हुने बताए। ‘गुणस्तरीय शिक्षा र सिर्जनात्मक सोचको बलमा तपाईंहरू देशको आर्थिक तथा सामाजिक रूपान्तरणका संवाहक बन्न सक्नुहुन्छ,’ मन्त्री पोखरेलले भने।
दीक्षान्त समारोहमा विश्वविद्यालयबाट विभिन्न तहका विद्यार्थी दीक्षित भएका थिए। कार्यक्रममा शिक्षाविद्, प्राध्यापक, अभिभावक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।




