काठमाडौँ- प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलका क्रममा सांसद अर्जुनकुमार कार्कीले शिक्षा प्रणाली सुधारको केन्द्रमा विद्यालय शिक्षकलाई राख्नुपर्ने बताएका छन्।
सांसद कार्कीले शिक्षकमा गरिएको लगानी प्रत्येक बालबालिकाको भविष्यमा गरिएको लगानी हो भन्दै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षकको मनोबल उच्च हुन आवश्यक रहेको बताए।
उनले २०७१ सालदेखि भौगोलिक विकटताका आधारमा ३९ जिल्लाका राष्ट्रसेवक कर्मचारीलाई स्थानीय भत्ता दिने व्यवस्था भए पनि संखुवासभा जिल्ला लगायतका दुर्गम जिल्लाका शिक्षकहरू उक्त सुविधाबाट वञ्चित रहेको उल्लेख गरे। यसका कारण शिक्षकहरू आफ्नो अधिकारका लागि अदालतको ढोका ढकढकाउन बाध्य भएको उनको भनाइ थियो।
सांसद कार्कीले शिक्षकको उच्च मनोबलबिना गुणस्तरीय शिक्षा सम्भव नहुने उल्लेख गर्दै नेपाल सरकारसँग राहत, करार, गुरुकुल, मद्रासा तथा गुम्बामा कार्यरत शिक्षकहरूको सम्मान, सुविधा र भत्तामा रहेको विभेद अन्त्य गर्न जोडदार माग गरे।
उनले सबै प्रकारका शिक्षकप्रति समान व्यवहार र न्यायोचित सुविधा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन्।




