काठमाडौँ- २०२६ फिफा विश्वकप बिहीबार रातिबाट सुरु हुँदै छ। पहिलो खेलमा आयोजक मेक्सिकोले मेक्सिको सिटीस्थित एस्तादियो एट्ज्टेकामा दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्नेछ।
चार वर्षमा एकपटक आयोजना हुने यो विश्वव्यापी खेल महोत्सव जुन ११ बाट सुरु भएर जुलाई १९ मा फाइनलसँगै सम्पन्न हुनेछ। यहाँ २०२६ विश्वकपका प्रमुख तथ्यहरू प्रस्तुत गरिएका छन् :
टोली संख्या : ४८
अघिल्लो ३२ टोलीबाट विस्तार गरी यस संस्करणमा ४८ टोली सहभागी छन्। यसले थप खेल र प्रतिस्पर्धा सुनिश्चित गर्नेछ।
खेलाडी संख्या : १,२४८
प्रत्येक टोलीले अधिकतम २६ खेलाडी (३ गोलकिपरसहित) दर्ता गर्न पाउनेछन्। तीमध्ये आठ सय ९१ जना पहिलो पटक विश्वकप खेल्दै छन्। यसमा धेरै नयाँ अनुहारहरू छन्, जसले विश्व मञ्चमा आफूलाई चिनाउने अवसर खोजिरहेका छन्।
खेल अधिकारी संख्या : १७०
कुल १७० खेल अधिकारीहरू खटाइनेछन्। तिनमा ५२ मुख्य रेफ्री र ८८ सहायक रेफ्री (लाइनसम्यान) समावेश छन्। यी अधिकारीहरू ५० विभिन्न देशबाट प्रतिनिधित्व गर्छन्।
पहिलो पटक विश्वकप खेल्ने राष्ट्रहरू : चार
केप भर्डे, उज्बेकिस्तान, जोर्डन र कुराकाओ पहिलो पटक फिफा विश्वकपका लागि छनोट भएका छन्।
खेल संख्या : १०४
प्रत्येक टोलीले समूह चरणमा तीन खेल खेल्नेछ। समूह चरणमा कुल ७२ खेल हुनेछ भने नकआउट चरणमा ३२ खेल खेलिनेछ। यसरी कुल १०४ खेल हुनेछन्। सन् २०२२ विश्वकपमा ६४ खेल भएका थिए।
आयोजक देश : तीन
२०२६ विश्वकप क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिका गरी तीन देशले संयुक्त रूपमा आयोजना गर्दैछन्। यससँगै मेक्सिको तेस्रो पटक (१९७० र १९८६ पछि) विश्वकप आयोजना/सह-आयोजना गर्ने पहिलो देश बनेको छ। अमेरिका १९९४ मा आयोजक थियो भने क्यानडाले पहिलो पटक आयोजना गर्दै छ।
विश्वकपको पहिलो उद्घाटन समारोह जुन ११ मा मेक्सिको सिटी स्टेडियममा हुनेछ। प्रतियोगिताको पहिलो खेलअघि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्वसामु प्रस्तुत गर्नेछ। आदिवासी कलाकारहरुको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षण हुनेछन् । साथै संगीत क्षेत्रका अन्तर्राष्ट्रिय तथा ल्याटिन अमेरिकी स्टारहरुले पनि प्रस्तुति दिनेछन् ।
समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला, अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसन, लिला डाउन्स, लस एन्जेल्स अजुलेस र मानाजस्ता कलाकारहरु देखिन सक्ने अपेक्षा छ ।
उद्घाटन समारोहपछि विश्वकपको पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार खेल मध्यराति १२ः४५ बजे हुनेछ । उद्घाटन समारोह ८ः४५ बजेबाट हुनेछ ।
जुन १२ मा टोरन्टोमा क्यानाडाको उद्घाटन समारोह आयोजना हुनेछ। यो क्यानाडाका लागि विशेष अवसर हुनेछ। किनभने पुरुष राष्ट्रिय टोलीले पहिलोपटक आफ्नै भूमिमा विश्वकप खेल्दै छ।
मेक्सिको र अमेरिकासँग विश्वकप आयोजना गरिसकेको अनुभव छ। क्यानाडा पहिलोपटक यति ठूलो प्रतियोगिता आयोजना गर्दै छ। त्यसैले पनि सम्पूर्ण क्यानेडियन जनताका लागि यो विशेष दिन हुनेछ।
‘फ्रम कोस्ट टु कोस्ट टु कोस्ट’ अर्थात् देशको पूर्वदेखि पश्चिम र उत्तरसम्मको यात्रालाई चित्रण गर्ने विशेष प्रस्तुति समारोहको मुख्य विषय रहनेछ। क्यानाडाको बहु–सांस्कृतिक समाज, विभिन्न समुदाय र राष्ट्रिय पहिचानलाई संगीत तथा दृश्यमार्फत प्रस्तुत गरिनेछ।
समारोकमा अलानिस मेरिसेट, अलेसिया कारा, माइकल बुब्ले, जेसी रेयेज, नोरा फतेह, एलियाना सन्जोय, भेगेड्रिम र विलियम प्रिन्सलगायत कलाकारहरुले प्रस्तुति दिने अपेक्षा गरिएको छ।
समारोहपछि क्यानाडाले बोस्निया एन्ड हर्जेगोभिनासँग खेल्दै घरेलु विश्वकप अभियान सुरु गर्नेछ । खेल नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे हुनेछ। उद्घाटन समारोह राति ११ः१५ बजेबाट हुनेछ।
अमेरिकाको उद्घाटन समारोह पनि जुन १२ मा लस एन्जलसमा आयोजना हुनेछ। मनोरञ्जन केन्द्र मानिने सहरमा आयोजना हुने यो कार्यक्रमले अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय संगीतको बेजोड प्रस्तुति दिनेछ।
कार्यक्रममा केटी पेरी, फ्युचर, अनिट्टा, लिसा, रेमा र टाइला जस्ता विश्वप्रसिद्ध कलाकारहरुले प्रस्तुति दिने सम्भावना छ। आयोजकहरुका अनुसार यो समारोहले अमेरिकाको सांस्कृतिक विविधता र विश्व मनोरञ्जन क्षेत्रमा रहेको प्रभावलाई झल्काउनेछ।
समारोहपछि अमेरिकाले पाराग्वेसँग खेल्दै घरेलु विश्वकप अभियान सुरु गर्नेछ। खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे हुनेछ। उद्घाटन समारोह बिहान ५ः१५ बजेबाट हुनेछ।
रंगशाला संख्या : १६ सहर
खेलहरू १६ सहरका १६ रंगशालामा हुनेछ। तीमध्ये ११ वटा अमेरिका, तीनवटा मेक्सिको र दुईवटा क्यानडामा छन्। उद्घाटन खेल मेक्सिको सिटीमा हुनेछ भने फाइनल अमेरिकाको न्यु जर्सीमा हुनेछ।
पुरस्कार राशि : ६५५ मिलियन अमेरिकी डलर
च्याम्पियनले ५० मिलियन डलर पाउनेछन् भने उपविजेताले ३३ मिलियन डलर पाउनेछन्। तेस्रो स्थानले २९ मिलियन र चौथो स्थानले २७ मिलियन डलर पाउनेछन्। क्वार्टरफाइनलमा पुग्ने टोलीले १९ मिलियन डलर प्राप्त गर्नेछन्। राउन्ड अफ १६ मा पुग्ने टोलीलाई न्यूनतम १५ मिलियन डलर र राउन्ड अफ ३२ मा पुग्ने टोलीलाई ११ मिलियन डलर दिइनेछ। समूह चरणमै बाहिरिने टोलीले पनि १० मिलियन डलर पाउनेछन्।
आधिकारिक मस्कट : तीन
क्यानडाका लागि ‘मेपल द मुस’, मेक्सिकोका लागि ‘जायु द जगुआर’ र अमेरिकाका लागि ‘क्लच द बाल्ड इगल’ २०२६ विश्वकपका आधिकारिक मस्कट हुन्।
ढाँचा र संरचना
४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा चार टोली रहनेछन्। प्रत्येक टोलीले तीन खेल खेल्नेछन्। समूह चरणबाट शीर्ष दुई टोली (२४ टोली) र उत्कृष्ट तीन स्थान प्राप्त आठ टोली गरी ३२ टोली राउन्ड अफ ३२ मा प्रवेश गर्नेछन्। त्यसपछि सबै खेल नकआउट प्रणालीमा हुनेछ, जसमा हार्ने टोली बाहिरिनेछ।
फाइनल : जुलाई १९
फाइनल खेल न्यु जर्सीको इस्ट रदरफोर्डस्थित स्टेडियममा हुनेछ।
नेपालमा प्रसारण
नेपालमा यसपालिको विश्वकप हिमालय स्पोट्र्स च्यानलबाट प्रसारण हुनेछ भने डिजिटलतर्फ डिगो एपमार्फत खेलहरूको स्ट्रिमिङ हुनेछ। फिफाले नेपालका लागि एक्सक्लुसिभ अधिकार दिएका कारण विदेशी टेलिभिजन र स्ट्रिमिङ एपले नेपालभित्र प्रसारण गर्न पाउने छैनन्। नेपाली दर्शकहरूले तोकिएको शुल्क भुक्तानी गरेपछि विश्वकपका सबै १०४ खेल हेर्न पाउनेछन्।
टीभी प्याकेजका लागि करसहित नौ सय ९९ रुपैयाँ शुल्क तोकिएको छ भने मोबाइल प्याकेजका लागि करसहित पाँच सय ४९ रुपैयाँ तोकिएको छ। मोबाइल र ल्यापटप दुवैमा हेर्नका लागि पनि नौ सय ९९ रूपैयाँ शुल्क तिरे पुग्नेछ।




