गृह मन्त्रालय
काठमाडौँ- छठ पर्वको अवसरमा गृह मन्त्रालयले आगामी सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिने जनाएको हो।
यसअघि कात्तिक २९ गते आइतबार छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिइसकेको छ।
छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने परम्परा रहेकाले पर्वको भोलिपल्टसमेत सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक बिदासम्बन्धी निर्णय सार्वजनिक गरिएको बताए।
उक्त निर्णयसँगै आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।



