ब्राजिलका काकाले सन् २००७ को ‘फिफा प्लेयर अफ दि इयर’ अवार्ड जितेका थिए तर मञ्चमा उनको छेउमा एउटा यस्तो असहज क्षण उत्पन्न भयो जुन पछि भाइरल बन्यो र सम्भवतः एक पुस्ताकै ठूलो प्रतिद्वन्द्विताको पहिलो झलक दियो।
युवा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो क्रमशः दोस्रो र तेस्रो स्थानमा थिए तर ब्राजिलका महान् खेलाडी पेलेले झुक्किएर रोनाल्डोलाई दोस्रो स्थानको ट्रफी थमाइदिए।
जुरिख ओपेरा हाउसमा भएको उक्त घटनामा फिफा अध्यक्ष सेप ब्लाटरले हस्तक्षेप गर्दै ती दुईलाई ट्रफी साटासाट गर्न आग्रह गर्नुपर्यो, परिणामस्वरूप दुवै जना खिन्न देखिन्थे।
त्यसपछिका १० वर्षसम्म हरेक ब्यालोन डी’ओर र फिफा अवार्ड मेस्सी वा रोनाल्डोमध्ये एकैले जिते। वास्तवमा सन् २००७ यता युरोपको वर्ष खेलाडीका लागि दिइएका २९ अवार्डमध्ये २० वटा यी दुईमध्ये एककै पोल्टामा परेका छन्।
दुवैको खेल जीवनमा गरी झण्डै दुई हजार गोल, क्लब र देशका लागि ८५ ट्रफी र अनगिन्ती व्यक्तिगत पुरस्कार तथा कीर्तिमानका साथ मेस्सी र रोनाल्डो इतिहासकै सबैभन्दा सफल दुई खेलाडीका रूपमा सधैँ सम्झिइनेछन्।
यो एउटा यस्तो प्रतिद्वन्द्विता हो जसले फुटबलको पछिल्लो दुई दशकलाई परिभाषित गरेको छ। यसले क्लब, देश र प्रतियोगिताको सिमाना नाघेर विश्वभर फुटबल कसरी खेलिन्छ, कसरी हेरिन्छ र कसरी बहस गरिन्छ भन्ने कुरालाई नयाँ रूप दिएको छ।
‘उनीहरू जस्ता दुई खेलाडी, यतिका वर्षसम्म त्यो स्तरमा प्रतिस्पर्धा गर्ने, ब्यालोन डी’ओरका लागि भिड्ने र त्यति धेरै गोल गर्ने…! मलाई लाग्दैन- हामीले यो फेरि कहिल्यै देख्नेछौँ’, यी दुवैसँग खेलिसकेका अर्जेन्टिनाका विश्वकप विजेता एन्जेल डी मारियाले बीबीसी स्पोर्टको नयाँ डकुमेन्ट्री रैभल्स : मेस्सीविरुद्ध रोनाल्डोमा भनेका छन्।
ट्रफी, कीर्तिमान र उत्कृष्ट बन्ने अथक चाहनाबाट प्रेरित यो जोडीले एकअर्कालाई नयाँ उचाइमा पुऱ्याएका छन्। सम्भवतः यस वर्ष उनीहरू आफ्नो अन्तिम विश्वकप खेल्नेछन्।
यो प्रतिद्वन्द्विता उनीहरूले सुरु गरेको ‘सर्वकालीन महान् खेलाडी’ (ग्रेटेस्ट अफ अल टाइम-गोट) को बहसभन्दा पनि धेरै माथि छ।
‘उनीहरू दुवैले फुटबललाई बदले,’ डी मारिया भन्छन्।
सबैभन्दा महान् को हो भनेर कसैलाई सोध्ने हो भने एकमत भेट्टाउन गाह्रो छ।
‘यो रोनाल्डो नै हुनुपर्छ,’ म्यानचेस्टर युनाइटेडका उनका पूर्वसहकर्मी रियो फर्डिनान्ड भन्छन्।
‘मेस्सी अहिलेसम्मकै सर्वोत्कृष्ट खेलाडी हुन्’, बार्सिलोनाका पूर्वखेलाडी एवं प्रबन्धक जाभी दाबी गर्छन्।
रोनाल्डोले सन् २०१२ मा आफ्नो धारणा राख्दै भनेका थिए- ‘तपाईं फेरारीलाई पोर्ससँग तुलना गर्न सक्नुहुन्न। यसको इन्जिन फरक हुन्छ। कतिपयले म राम्रो छु भन्छन्, कतिपयले उनी भन्छन्। तत्कालको समयमा को राम्रो छ भनेर मानिसहरूले निर्णय गर्नेछन् र मलाई लाग्छ त्यो म नै हुँ।’
आँकडाहरूले के देखाउँछन् त? गोल वा च्याम्पियन्स लिग ट्रफीका आधारमा मूल्यांकन गर्ने हो भने रोनाल्डो अगाडि छन्। ब्यालोन डी’ओर वा कुल ट्रफीको कुरा गर्ने हो भने मेस्सी थोरै अगाडि देखिन्छन्।
कतिपयका लागि, सन् २०१६ मा पोर्चुगललाई युरोपियन च्याम्पियनसिप जिताउन मद्दत गर्दा रोनाल्डो अगाडि निस्किएका थिए, तर मेस्सीले त्यसपछि अर्जेन्टिनालाई दुईवटा कोपा अमेरिका उपाधि र एउटा विश्वकप दिलाइसकेका छन्।
‘मेरो लागि, मेस्सी इतिहासकै उत्कृष्ट खेलाडी हुन् र क्रिस्टियानो इतिहासकै महान् गोलकर्ता हुन्’, स्पेनिस फुटबल विज्ञ गुइलेम बालागे भन्छन्।
पोर्चुगलमा रोनाल्डो र बार्सिलोनामा मेस्सीसँग खेलेका डेको भन्छन्: ‘उनीहरू विशेष छन्। उनीहरू अरूभन्दा पूर्ण रूपमा फरक छन्। यतिका वर्षसम्म यो स्तरमा रहनु सामान्य कुरा होइन। हरेक वर्ष केही वर्षका लागि उत्कृष्ट काम गर्ने धेरै खेलाडी आउँछन्, तर झण्डै २० वर्षसम्म यो स्तर कायम राख्नु सामान्य होइन।’
सायद सर्वकालीन महान् बहसको सुन्दरता नै यही हो कि यो कहिल्यै टुंगिने छैन र यसलाई टुंग्याउनु आवश्यक पनि छैन।
रोनाल्डो र मेस्सीसम्बन्धी पुस्तकका सहलेखक जोनाथन क्लेग भन्छन्, ‘विगत २० वर्षदेखि आफूहरूले अभिनय गरिरहेको फुटबल ड्रामाको सहकलाकारका रूपमा उनीहरूले एकअर्काको कदर गर्न थालेका छन्।’

धेरैले यो जोडीलाई दुई विपरीत ध्रुवका रूपमा हेर्छन्।
ड्रिबलर (मेस्सी) विरुद्ध शारीरिक रूपमा बलियो खेलाडी (रोनाल्डो)। लजालु प्रतिभाविरुद्ध अहंकारी स्वभाव। पेप ग्वार्डिओलाको बार्सिलोनाविरुद्ध जोसे मोरिन्होको रियल मड्रिड। एडिडासविरुद्ध नाइकी।
तर उनीहरूको प्रतिद्वन्द्विताको कथा नि:सन्देह उनीहरूका भिन्नतामा आधारित भए पनि यी दुईबीचको समानता बाल्यकालदेखि निकै अचम्मको थियो।
दुवै खेलाडी सामान्य परिवेशमा हुर्किएका थिए। दुवैले आफ्नो सपना पूरा गर्न सानै उमेरमा घर छोडे। मेस्सी १३ वर्षको उमेरमा अर्जेन्टिनाबाट बार्सिलोना र रोनाल्डो १२ वर्षको उमेरमा माडेइराबाट लिस्बन गए। परिवारलाई पछाडि छोडेपछि दुवैले घरको न्यास्रोसँग संघर्ष गरे।
वाल स्ट्रिट जर्नलका रिपोर्टर तथा मेस्सी-रोनाल्डो पुस्तकका सहलेखक जोसुआ रोबिन्सनले भने- ‘मेस्सी र रोनाल्डोलाई सधैँ निकै भिन्न रूपमा चित्रण गरिन्छ तर उनीहरूको बाल्यकाललाई आकार दिने कुराहरू अविश्वसनीय रूपमा समान थिए।’
उनीहरू दुवै यस्तो ठाउँमा जान्छन् जसले भन्छ ‘हामी तिम्रो प्रतिभा लिनेछौँ र तिमीलाई अझ महान् बनाउनेछौँ।’ त्यो बाचा आकर्षक लाग्छ तर यो एउटा ठूलो जुवा हो। पूर्ण प्रतिबद्धताको त्यही क्षणमा उनीहरूलाई अनुभव हुन्छ कि यो अब केटाकेटीको खेल होइन। ‘म सर्वकालीन महान् बन्न गइरहेको छु भने, यसको थालनी यहीँबाट हुन्छ।
तर यी दुईलाई सँगै ल्याउने सबैभन्दा ठूलो कुरा सफलताका लागि उनीहरूको अडिग चाहना थियो, जसले गर्दा उनीहरूले चाँडै अद्भुत युवा प्रतिभाका रूपमा आफ्नो चिनारी दिलाए।
जाभीले भने, ‘तपाईंले मेस्सीमा पहिले नै केही फरक देख्न सक्नुहुन्थ्यो। गुणस्तर मात्र होइन तर उनले काम गर्ने तीव्रता पनि फरक थियो। आक्रमणमा यस्तो आक्रामकता थियो जुन मैले पहिले कहिल्यै देखेको थिइनँ। क्रिस्टियानोले त उनलाई अझ राम्रो खेलाडी बन्न थप प्रेरणा समेत दिए।’
यसैबीच इंगल्यान्डमा किशोरावस्थाका रोनाल्डोले स्पोर्टिङबाट म्यानचेस्टर युनाइटेडका लागि हस्ताक्षर गर्दै थिए।
त्यसबेला क्लबको ब्याकरुम टोलीको हिस्सा रहेका रेने म्युलेनस्टिनले भने, ‘आफूले के चाहेको हो भन्ने कुरामा यति विश्वस्त भएको युवा खेलाडी मैले कहिल्यै भेटेको थिइनँ। उनी म्यान युनाइटेड आएको क्षण उनी जे बन्न चाहन्थे-विश्वको उत्कृष्ट खेलाडी-त्यसको एउटा तार्किक कदम मात्र थियो।’
‘क्रिस्टियानो चाँडै सिक्ने खेलाडी थिए। म उनलाई गोल गर्न सक्ने मानिसबाट एउटा ‘गोल मेसिन’ (गोलकर्ता) मा बदल्न चाहन्थेँ। मैले तीन मिनेटको एउटा भिडियो बनाएँ जसमा उनले गरेका गोलहरू र उनले चुकाएका अवसरहरू देखाइएको थियो। उनले सबै कुरालाई आत्मसात गरे’, उनले भने।
समय द्रुत गतिमा अघि बढ्यो र सन् २००८ को च्याम्पियन्स लिग सेमिफाइनल आयो। म्यानचेस्टर युनाइटेडविरुद्ध बार्सिलोना। पहिलो पटक रोनाल्डोविरुद्ध मेस्सी।
स्पेनिस फुटबल पत्रकार गुइलेम बालागेले भने, ‘मेस्सी ला लिगामा उत्कृष्ट र क्रिस्टियानो प्रिमियर लिगमा उत्कृष्ट भइसकेको देख्न सकिन्थ्यो। ती दुई युवालाई मैदानमा सँगै देख्नु भविष्यमा केही ठूलो हुँदैछ भन्ने संकेत थियो।’
म्यानचेस्टर युनाइटेडले त्यो ट्रफी जित्यो, रोनाल्डोले ब्यालोन डी’ओर उठाए र एक ऐतिहासिक प्रतिद्वन्द्विताको थालनी भयो।
सन् २००३ देखि २०१० को बीचमा बार्सिलोनाका फुटबल निर्देशक रहेका चिकी बेगिरिस्टेन भन्छन्, ‘उनीहरू एउटै लिगमा हुनुले सबै कुरा बदल्यो, यसमा कुनै शंका छैन।’
सन् २००९ मा रोनाल्डोको तत्कालीन विश्व कीर्तिमानी आठ करोड पाउन्डको रियल मड्रिड बसाइँ सराइले यी दुईलाई फुटबलको सबैभन्दा तीव्र क्लब प्रतिद्वन्द्विता-बार्सिलोनाविरुद्ध रियल मड्रिड-को केन्द्रमा ल्यायो।
सन् २०१८ मा रोनाल्डो युभेन्टस प्रस्थान गर्दासम्म दुवैले पाँच-पाँचवटा ब्यालोन डी’ओर जितिसकेका थिए। यी दुई स्पेनमा सँगै रहेका नौ सिजनमा रोनाल्डोले रियलका लागि ४३८ खेलमा ४५० गोल गरेका थिए भने मेस्सीले बार्सिलोनाका लागि ४७६ खेलमा ४७१ गोल गरेका थिए।
यो आँकडाभन्दा धेरै माथि उठिसकेको थियो। अब यो व्यक्तिगत बनिसकेको थियो र सामाजिक सञ्जालको विकासको अर्थ पूरा विश्वले यसलाई नियालिरहेको थियो।
बेगिरिस्टेनले भने, ‘क्रिस्टियानोका लागि लियोनेल मेस्सी र लियोनेल मेस्सीका लागि क्रिस्टियानो थिए। ‘मैले यो मान्छेलाई हराउनुपर्छ’ भन्ने भावना थियो।’
स्पेनिस फुटबल लेखक सिड लोले थपे, ‘मोरिन्हो र ग्वार्डिओलाको प्रतिद्वन्द्विता रोनाल्डो र मेस्सीको प्रतिद्वन्द्विताको ऐना जस्तै थियो। खेलाडीका रूपमा उनीहरूलाई थाहा थियो कि खेल जिताउने गोलहरू नै एकअर्काभन्दा माथि पुग्ने माध्यम थिए।’
‘हामी ती सबै कुरा हाम्रा फोनमा हेर्न सक्थ्यौँ। फलस्वरूप, मेस्सी-रोनाल्डो प्रतिद्वन्द्विताको विश्वव्यापी पहुँच अत्यधिक बढेको थियो। उनीहरूले गरेका हरेक कुरा हेर्नैपर्ने हुन्थ्यो’, उनले भने।
प्रेस बक्स, पत्रपत्रिका र सामाजिक सञ्जालका टिप्पणीहरूमा सबैको जिब्रोमा क्रिस्टियानो र लियोकै नाम हुन्थ्यो। उनीहरू मैदानमा एकअर्कालाई उछिन्न मरिहत्ते गर्थे। उनीहरूको सर्वोच्चताको व्यक्तिगत लडाइँलाई क्लबहरू बीचको ट्रफीको लडाइँले प्रतिबिम्बित गर्थ्यो।
त्यो लडाइँ साँच्चै अद्भुत थियो। मेस्सी र बार्सिलोनाले नि:सन्देह ला लिगाको उपाधिहरू जिते, तर च्याम्पियन्स लिगमा रियल मड्रिड र रोनाल्डोको वर्चस्व रह्यो।
सन् २०१२ मा रोनाल्डोले रियललाई चार वर्षमा पहिलो पटक ला लिगाको उपाधि दिलाए तर मेस्सीले लगातार चौथो पटक ब्यालोन डी’ओर अवार्ड जिते- जसले उनका प्रतिद्वन्द्वीलाई निकै निराश बनायो। त्यसपछिका पाँचमध्ये चारवटा अवार्ड रोनाल्डोले जिते।

रोबिन्सन भन्छन्, ‘एक वास्तविक शत्रुता बढ्न थाल्छ। उनीहरूले एकअर्कालाई त्यति स्वीकार गर्दैनथे, उनीहरूलाई तुलना गरिएको मन पर्दैनथ्यो।’
उनीहरू सर्वकालीन महान् हुन् भने उनीहरूकै युगमा, उनीहरूकै फुटबल लिगमा अर्को कोही हुन सक्छ भन्ने कुरा उनीहरू सहन सक्दैनथे।
डेको थप्छन्, ‘मेस्सी र रोनाल्डोको हकमा जस्तो घटना अहिलेको समयमा कतै भएको मलाई लाग्दैन, किनभने त्यतिबेला बार्सिलोना र मड्रिड दुवै क्लब एउटै स्तरमा थिए र ठूला ट्रफीका लागि लडिरहेका थिए।’
मेस्सीले सन् २०१७ मा रियल मड्रिडको मैदानमा बार्सिलोनाका लागि ९२औँ मिनेटमा खेल जिताउने गोल गरे, उनले आफ्नो जर्सी खोलेर दर्शकदीर्घातर्फ देखाए।
रोबिन्सन भन्छन्, ‘आममानिसको बुझाइमा क्रिस्टियानो घमण्डी (डिभा) र मेस्सी बार्सिलोनाका नम्र सेवक थिए, तर यो क्षण मेस्सीले प्रतिद्वन्द्वितामा आफूलाई पुन: स्थापित गर्दै आफ्नो खेल जीवनमा सायद पहिलो पटक ‘मलाई हेर’ भनिरहेका थिए।’
त्यसको केही महिनापछि रोनाल्डोले बार्सिलोनाको मैदानमा स्पेनिस सुपर कपमा गोल गर्दा सोही उत्सवको नक्कल गरे।
बालागेले थपे, ‘तपाईंलाई उनीहरूका लागि एकअर्कालाई हराउनु कति महत्त्वपूर्ण थियो भन्ने प्रमाण चाहिन्छ भने ती तस्बिरहरू नै पर्याप्त छन्।’
स्पेनमा मेस्सी विरुद्ध रोनाल्डोको प्रतिद्वन्द्विता सन् २०१८ मा रोनाल्डो युभेन्टसमा आबद्ध भएपछि समाप्त भएको हुन सक्छ तर विश्वव्यापी रूपमा जारी बहस हराएको थिएन।
रोनाल्डो साउदी अरबको वर्तमान क्लब अल-नास्रमा जानुअघि म्यानचेस्टर युनाइटेड फर्किए, जब कि मेस्सी पेरिस सेन्ट-जर्मेन (पीएसजी) हुँदै अमेरिकाको मेजर लिग सकरको इन्टर मियामीमा अनुबन्धित भए- जहाँ उनी अहिले पनि छन्।
युरोप, पश्चिम एसिया र अफ्रिकाका लागि मेटाका खेलकुद प्रमुख रोब पिलग्रिमले भने, “ब्रान्ड बेकह्यामले जे सम्भव छ त्यसको ढोका खोलेका थिए र यी दुईले त त्यो ढोकालाई नै भत्काइदिए।’
इटालियन फुटबल विज्ञ म मीना रजौकीले थपिन्- ‘तपाईं खेलकुदको उत्कृष्टता मात्र किनिरहनु भएको छैन, तपाईं त एक व्यक्तिको सिंगो अर्थतन्त्र किनिरहनु भएको छ।’
सन् २०१८ मा रोनाल्डो युभेन्टसमा आबद्ध हुँदा पहिलो २४ घण्टामा पाँच लाख २० हजार जर्सी बिक्री भए। सन् २०२१ मा मेस्सी पेरिस जाँदा मात्र सात मिनेटमा एक लाख ५० हजार जर्सी बिके।
म्यानचेस्टर युनाइटेडले सन् २०२१ मा रोनाल्डोलाई फिर्ता स्वागत गर्यो र उनको जर्सीको कुल बिक्री (१८ करोड ७० लाख पाउन्ड) पीएसजीमा मेस्सीको बिक्रीको झन्डै दोब्बर थियो।
इन्स्टाग्राममा रोनाल्डोका झन्डै ७० करोड फलोअर्स छन् भने मेस्सीका ५० करोड छन्। त्यस प्लेटफर्मको इतिहासमै सबैभन्दा बढी मन पराइएको तस्बिर अर्जेन्टिनी कप्तानले विश्वकप ट्रफी उठाएको हो, जसले सात करोड ५० लाखभन्दा बढी लाइक पाएको छ।

आर्थिक रूपमा रोनाल्डो शीर्ष स्थानमा आउँछन्। पोर्चुगली खेलाडी कुल ३० करोड डलर (२२ करोड ३० लाख पाउन्ड) कमाइका साथ लगातार चौथो पटक फोर्ब्सको सूचीमा विश्वकै सबैभन्दा बढी कमाउने खेलाडी बनेका छन्। मेस्सी १४ करोड डलर (१० करोड ४० लाख पाउन्ड) का साथ सूचीको तेस्रो स्थानमा छन्।
यी दुईबीचको प्रतिद्वन्द्विता खेलकुद सामग्री उत्पादन गर्ने कम्पनीहरू (स्पोर्ट्सवेयर) को प्रतिस्पर्धाले अझ प्रगाढ बनाएको छ। मेस्सी एडिडाससँग र रोनाल्डो नाइकीसँग आबद्ध छन्।
‘उनीहरू विशाल विश्वव्यापी ब्रान्ड बनेका छन् र उनीहरूका बारेमा अचम्मको कुरा के छ भने विश्वकै सबैभन्दा ठूलो विज्ञापन दूत बन्न उनीहरूले केही बोल्नै पर्दैन’, रोबिन्सनले भने।
यी सुपरस्टारहरूलाई आफ्नो साथमा ल्याउन विश्वभरका ब्रान्डहरूले अतुलनीय रकम खर्च गरे।
कतारमा भएको २०२२ को विश्वकपअघिको त्यो प्रतिष्ठित तस्बिर कसले भुल्न सक्छ र! जहाँ दुवै फुटबलर लुइस भिटनको सुटकेस माथि एकअर्काविरुद्ध बुद्धिचाल खेलिरहेका थिए, जसले डिजाइनरको नयाँ अभियान सुरु गरेको थियो।
सामाजिक सञ्जाल मार्केटिङ कम्पनी द गोट एजेन्सीकी मेलानी रोपले भनिन्, ‘यसलाई इन्टरनेट हल्लाइदिने तस्बिरका रूपमा चिनिन्छ। यो एक व्यावसायिक गुरुयोजना थियो। विश्वकपअघिको यसको समयले यसलाई विश्वव्यापी रूपमा प्रतिष्ठित बनायो।’
त्यसो भए, हामीले जहाँबाट थालेका थियौँ त्यहीँ फर्कौँ।
रोबिन्सनले भने, ‘मेस्सीले अब जित्न बाँकी केही छैन। उनीसँग एउटा यस्तो चिज छ जुन रोनाल्डोसँग छैन- विश्वकप। अब प्रश्न यो हो कि के मेस्सीले फुटबलको यो सम्पूर्ण युग जितेका हुन्?’
यो कथा अझै समाप्त भएको छैन. अर्जेन्टिना र पोर्चुगल यस गर्मीको विश्वकपको अन्तिम चरणहरूमा भेट्न सक्ने सम्भावना रहेकाले यसको अन्तिम दृश्य अझै आउन बाँकी हुन सक्छ।
बीबीसीबाट




