आईजीपी कार्कीमाथि राजीनामाको दबाब परेको समाचार भ्रामक : प्रहरी

हिमाल प्रेस १२ कार्तिक २०८३ २१:२९ | Thursday, October 29, 2026
14
SHARES
आईजीपी कार्कीमाथि राजीनामाको दबाब परेको समाचार भ्रामक : प्रहरी आईजीपी दानबहादुर कार्की

काठमाडौँ- नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचार तथा टिप्पणी भ्रामक भएको दाबी गरेको छ।

केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा यस आशयका समाचार तथा टिप्पणी प्रकाशित तथा प्रसारित भइरहेको भन्दै प्रहरीले बिहीबार प्रेसविज्ञप्ति जारी गरी आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आमनागरिकमा भ्रम सिर्जना हुने र प्रहरी संगठनप्रतिको विश्वास, छवि तथा निष्ठामा असर पर्न सक्ने प्रहरीको भनाइ छ।

यस्ता अपुष्ट, भ्रामक, तथ्यहीन तथा स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न प्रहरीले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालालाई आग्रह गरेको छ।

समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र पत्रकारिताको व्यावसायिक आचारसंहिताको पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

प्रहरीले आफू कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको जनाएको छ। संगठनका कर्मचारीलाई उच्च मनोबलका साथ एकताबद्ध भएर काम गर्न निर्देशन दिँदै प्रहरीले नागरिकलाई आधिकारिक र तथ्यमा आधारित समाचारमा विश्वास गर्न तथा अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न आग्रह गरेको छ।

सार्वजनिक सुरक्षा, शान्ति सुव्यवस्था कायम गर्ने, अपराध नियन्त्रण गर्ने तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारीबाट प्रहरी विचलित नहुने विज्ञप्तिमा उल्लेख छ।

संगठनलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोचका साथ नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गर्ने व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारबाहीको प्रक्रिया अघि बढाउने प्रहरीले चेतावनीसमेत दिएको छ।

प्रकाशित: १२ कार्तिक २०८३ २१:२९ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast