प्रतिनिधिमूलक तस्बिर
काठमाडौँ- बल्खु, दक्षिणकाली हुँदै हेटौँडा जाने सडकखण्डमा यात्रुवाहक तथा सार्वजनिक सवारीसाधन सञ्चालनका लागि समयसीमा निर्धारण गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै उक्त सडकखण्डमा सवारी सञ्चालनसम्बन्धी नयाँ व्यवस्था लागू गरेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सम्बन्धित यातायात व्यवसायी, सवारी चालक तथा यात्रुहरूलाई निर्धारित नियम पालना गर्न आग्रह गरे।
जारी सूचनाअनुसार अब उक्त सडकखण्डमा चल्ने यात्रुवाहक तथा सार्वजनिक सवारीसाधन बिहान ५ बजेदेखि मात्रै सञ्चालन गर्न पाइनेछ। त्यसैगरी, बेलुका ६ बजेसम्ममा सबै सवारीसाधन प्रहरी चेकपोस्ट फर्पिङ पुगिसक्नुपर्नेछ।
प्रशासनका अनुसार पछिल्लो समय उक्त सडकखण्डमा सवारी दुर्घटना बढ्दै गएको र दुर्घटनाका कारण मानवीय क्षति हुने क्रम पनि बढेको छ।
साँघुरा सडक, बिग्रिएको सडकको अवस्था, यान्त्रिक अवस्था ठीक नभएका सवारीसाधनको प्रयोग, चालकको लापरबाही, तीव्र गति तथा रातमा सडकमा यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको सूचनामा उल्लेख छ।
त्यस्तै, तीव्र प्रतिस्पर्धाका कारण चालकले छोटो समयमै यात्रा पूरा गर्नुपर्ने दबाब, अनिद्रा तथा मादक पदार्थ र लागू पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिका कारण पनि दुर्घटना हुने गरेको प्रशासनले जनाएको छ।
यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समिति काठमाडौँले उक्त सडकखण्डमा यात्रुवाहक तथा सार्वजनिक प्रकृतिका सवारीसाधन सञ्चालनका लागि समयतालिका निर्धारण गरेको हो।
यात्रुवाहक तथा सार्वजनिक सवारीसाधनको अवस्था (कन्डिसन) पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
काठमाडौँ जिल्लाभित्र उक्त रुटमा पर्ने प्रहरी युनिटहरूले ट्राफिक प्रहरीसहित कडाइका साथ प्रत्येक सवारीसाधनको अनिवार्य जाँच गर्ने व्यवस्था मिलाइने जनाइएको छ।



