प्रतिनिधिमूलक तस्बिर
म्याग्दी- यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दी जिल्लामा सबैभन्दा बढी प्रभावित बनेको अन्नपूर्ण गाउँपालिकाका सबै सडक सञ्चालनमा आएका छन्।
गत असोज ८ गतेदेखि ११ गतेसम्मको झरीपछिको बाढीपहिरोका कारण अवरुद्ध बनेका अन्नपूर्ण गाउँपालिकाका ८ वटै वडा र बस्ति जोड्ने सडक डेढ महिनापछि पूर्ण रुपमा सञ्चालनमा आएका हुन्।
अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले वडा नम्बर ५ मा पर्ने पाउद्धार गाउँ जोड्ने सडक मर्मतको काम आइतबार सकिएको जानकारी दिइन्।
‘अन्नपूर्णमा पर्ने कालीगण्डकी कोरिडोर गत असोज २३ गतेदेखि, पाउद्धार, हिस्तान र राम्चे बाहेकका सडक पनि दसैअघिनै सञ्चालनमा आएका थिए,’ उनले भनिन्,‘भौगोलिक रुपमा विकट र धेरै क्षति पुगेका पाउद्धार, राम्चे र हिस्तानका सडक मर्मत सकिएपछि सबै बस्ति सडक सञ्जालसँग पुनः जोडिएका छन्।’
सडक यातायात पुनःसञ्चालन भएपछि विपद्बाट क्षतिग्रस्त खानेपानी, सिचाइ, पदमार्ग, भवन र निजी आवास पुनःनिर्माणको कामलाई गति दिन सहज हुने अपेक्षा गरिएको छ।
प्राकृतिक नाकाबन्दीमा परेको पाउद्धार गाउँ जोड्ने पोखरेबगर–नेपाने–पाउद्धार सडक तत्काल मर्मत सम्भव नभएपछि शिखदेखि स्वाँत, किन्दु, झारवाङ हुदै पाउद्धार जोड्ने बैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ।
अन्नपूर्णमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु र एक जना बेपत्ता भएका छन्। साठी घर पूर्ण र एक सय २९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।



