‘आफैँले बालेको आगो गोठमा सल्किँदा वृद्धको ज्यान गयो’

हिमाल प्रेस २७ कार्तिक २०८३ १८:५४ | Friday, November 13, 2026
‘आफैँले बालेको आगो गोठमा सल्किँदा वृद्धको ज्यान गयो’

खोटाङ- साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका ७० वर्षीय धीरजबहादुर राईको आगलागीमा परेर ज्यान गएको छ।

परिवारदेखि छुट्टिएर एक्लै बाँझेच्यानडाँडाको रातमाटेस्थित गोठमा बस्दै आएका वृद्ध राई बुधबार गोठमा मृत फेला परेका हुन्।

करिब एक वर्षदेखि गोठमा बसेर सुन्तलाखेती र सुङ्गुरपालन गर्दै आएका राई आफैँले अगेनामा बालेको आगो गोठमा सल्किँदा जलेर उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष हेमन राईले जानकारी दिए।

‘दुई छोरा र दुई छोरीका बुबा धीरजबहादुर राई विगत एक वर्षदेखि एक्लै गोठमा बस्दै आउनुभएको थियो। घरदेखि टाढा रहेको बारीमा गोठ बनाएर बस्नुभएका उहाँ आज मृत फेला पर्नुभयो’, उनले भने,‘एकान्त ठाउँमा घटना भएकाले कुन समयमा के भएर आगलागी भयो भन्ने खुलेको छैन।’

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको छ। बाँझेच्यानडाँडामा भएको घटनाको जानकारी पाएलगत्तै जिल्लाबाट टोली पठाएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए।

प्रकाशित: २७ कार्तिक २०८३ १८:५४ | Friday, November 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast