काठमाडौँ– लामो समयको छलफलपछि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का पूर्वनेता सुदन किराँती श्रम संस्कृति पार्टीमा समाहित भएका छन्। शुक्रबार सार्वजनिक गरिएको यो सहमतिलाई ‘वैकल्पिक शक्तिको एकता’ भनिए पनि हर्क साम्पाङ र सुदन किराँतीबीचको सम्बन्ध कतिन्जेल टिक्ला भन्ने प्रश्न पनि त्यत्तिकै छ।
हर्क-सुदन सम्बन्ध स्वाभाविक राजनीतिक निकटताभन्दा पनि मध्यस्थताको परिणामका रूपमा बनेको देखिन्छ। दुवै नेता आफैँ एक हुन तयार नभएको, जनजाति पृष्ठभूमिका कलाकार, अभियन्ता र मध्यस्थ समूहले निरन्तर दबाब दिएपछि मात्रै सहमति सम्भव भएको वार्तामा सहभागी नेताहरू बताउँछन्।
सुदन माओवादीमा रहँदादेखि नै हर्कसँग उनको सम्बन्ध सहज थिएन। सुदन पर्यटनमन्त्री रहेका बेला हर्कले धरानमा विमानस्थल बनाउनुपर्ने माग राखेका थिए। त्यसबेला अपेक्षित प्रतिक्रिया नपाएपछि हर्क सार्वजनिक रूपमा असन्तुष्ट बनेका थिए। चुनावअघिसम्म पनि उनीहरूबीच राजनीतिक दूरी कायम थियो।
सुदन अब श्रम संस्कृतिका वरिष्ठ नेतासहित दोस्रो वरीयतामा पुगेका छन्।
सुदनलाई जब धरानबाट चुनाव लड्न रोकियो…
फागुन २१ को चुनावका लागि उम्मेदवार सिफारिस हुँदा सुदनको नाम भोजपुर र धरानबाट आएको थियो। प्रलोपाले धरान नाम सिफारिस गरेपछि हर्क तनावमा थिए। धरान उपमहानगरका मेयर रहेका हर्क पनि सुनसरी १ बाटै चुनाव लड्ने तयारीमा थिए।
‘सुदन पनि सोही क्षेत्रबाट उठ्दा हर्क हार्छ भनेर सुदनलाई चुनाव लड्न दिइएन’, हर्क-सुदन छलफलमा मध्यस्थ भूमिकामा रहेका एक नेता भन्छन्, ‘हामी सुदनलाई उठ्न नदिन र हर्कलाई सहयोग गर्न लाग्यौँ।’
सुनसरी १ मा ०७९ सालको चुनावमा पनि एमालेको समर्थनमा जनजाति पृष्ठभूमिका नेता अशोक राईले जितेका थिए। यदि सुदन र हर्क नै लडे दुवैको हार हुने अनुमानले सुदनलाई पछि हट्न दबाब दिइएको ती नेता बताउँछन्।
मध्यस्थ समूहले एकाएक सुदनको रणनीति बिगारेर संस्कृति पार्टीमा समर्थन गर्न राजी गरायो। निरन्तरको दबाबले सुदन संस्कृति पार्टीलाई समर्थन दिन तयार भएको ती नेता सुनाउँछन्।
‘सुदन चुनाव नलड्न र माटोलाई सघाउन दबाब दिने काम भयो। सोही नियमअनुसार सुदन अघि बढेका हुन्’, ती नेता सुनाउँछन्। सुदनको प्रलोपाले भोजपुर, धरान १ र खोटाङमा श्रम संस्कृतिलाई सघायो। अन्ततः सुदनले सहयोग गरेका ठाउँमा मात्रै संस्कृति पार्टीले जित हात पार्यो। भोजपुरबाट ध्रुव राई, खोटाङबाट आरएन राई र सुनसरी १ बाट हर्कले जिते। चुनावपछि भने हर्क-सुदन सम्बन्ध सुध्रिएको ती नेता सुनाउँछन्।
कार्यदलले बनायो मस्यौदा, पार्टी एकता वा प्रवेश भन्नेमै विवाद
चुनावपछि सुदन-हर्कलाई एकताको दबाब बढेको थियो। एकातिर चुनावको जनमत र मध्यस्थ समूहले मिल्न दबाब दिएका थिए। हर्कका तर्फबाट आशा लामा, सीता राई, सन्ध्या थापा र सुदनका तर्फबाट टीकाराम राई, मीना सिंगाक, विशाल राई वार्ता समूहमा थिए। उनीहरूले सहमतिको मस्यौदा तयार पारेका थिए।
ती नेताका अनुसार सुदनलाई वरिष्ठ नेता र १५ केन्द्रीय सदस्य दिनेमा सहमतिको मस्यौदा तयार भएको थियो। जसमा ती पदाधिकारी पनि सुदनलाई दिन वार्ता समूहमा सहमति भएको थियो। ‘सुदन संस्कृति पार्टीमा प्रवेश गर्ने भन्ने कि पार्टी एकता भन्नेमा १५ दिन विवाद भयो’, ती नेता भन्छन्, ‘बल्ल बल्ल समायोजन भन्न सहमति भयो।’
वरिष्ठ नेता वा वरिष्ठ उपाध्यक्षको विवादले लियो समय
वार्ता समूहमा सुदनलाई वरिष्ठ नेता दिने मस्यौदा सुरुमै तयार थियो। तर हर्क-सुदन समूहका नेताहरूबीच भने सुदनको पदलाई लिएर विवाद भयो। सुदन पक्ष सुरुवातकै सहमति अनुसार वरिष्ठ नेता दिनुपर्ने अडानमा थियो भने हर्क पक्ष वरिष्ठ उपाध्यक्ष मात्र दिनेमा थियो।
‘हर्क पक्षले हामीलाई विधानमा छैन। रास्वपाको जस्तो वरिष्ठ नेता नभनौँ भन्यो। तर हामीले वरिष्ठ उपाध्यक्ष पनि त छैन नि भन्ने अडान निरन्तर राख्यौँ’, ती नेता भन्छन्, ‘अन्ततः दबाबकै कारण हर्क साम्पाङ वरिष्ठ नेता दिन बाध्य भए।’ वरिष्ठ उपाध्यक्षको प्रस्ताव सुनेपछि सुदन भने अन्य विकल्पमा लागेको ती नेता सुनाउँछन्। सुदनले कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीसँग परामर्शमा पुगेका थिए। ‘अभियानकै रूपमा अघि बढाऔँ। सबैसँग अभियान चलाऔँ भन्ने भयो। तर हामीबीच सहमति हुन सकेन,’ ती नेता भन्छन्, ‘हर्क-सुदन मिल्नुपर्ने भन्ने दबाब आएपछि अभियानभन्दा पनि एकतालाई नै प्राथमिकतामा राख्यौँ।’
कलाकारको मध्यस्थताले एक ठाउँमा हर्क-सुदन
मध्यस्थ समूह, जनजाति पृष्ठभूमिका कलाकारसहितले निरन्तर दबाब दिँदा हर्क-सुदन वार्तामा बस्न तयार भएका थिए। वार्ता सकारात्मक अघि बढ्दासमेत दुवैलाई आफू निकटहरूले दबाब दिँदा तनाव हुने गरेको थियो। नेताहरूका अनुुसार सुदन निकट केही नेताहरू पनि सुदनलाई हर्कसँग एकता नगर्न दबाब दिइरहेका थिए। हर्क आफैँ मात्र पार्टीमा हाबी हुने भएकाले मिल्न गाह्रो हुने बुझाइ निकट नेताहरूको थियो।
हर्कको पार्टीभित्र पनि एक मत थिएन। सुदन संस्कृतिमा आएमा आफूहरू तल्लो वरीयतामा पुग्ने भन्दै हर्कका केही नेता असन्तुष्ट थिए। ‘दुवै समूहमा निरन्तर दबाब दिँदा कुरा सुल्झियो’, ती नेता भन्छन्। दुवै नेताका बीच बाहिर विवाद देखिए पनि भित्र भने वार्ता समूहले छलफल गरिरहेको थियो।
सुदन पक्षका वार्ता समिति सदस्य टीकाराम राईका अनुसार बिहीबार बेलुका ११ बजे दुई समूहबीच एकता भएको थियो। त्यही बैठकबाट शुक्रबार एकसाथ पत्रकार सम्मेलन गर्ने सहमति भएको थियो।
‘दुवै नेताहरूलाई समन्वय गर्दा सफल भइयो। अब वैकल्पिक शक्ति अझै एक हुने बाटोमा आएको छ’, राई भन्छन्। त्यसो त बिहीबार बेलुका हर्कले सामाजिक सञ्जालमा सुदन संस्कृति पार्टीमा आएको लेखेका थिए। सुदन पक्ष भने उनको कुरामा सहमत थिएन। वार्ता समूहका नेताहरूका अनुसार त्यसबेला दुवै समूहबीच सघन छलफल चलिरहेको थियो। नेताहरूका अनुसार सुरुदेखि नै दुई नेता मिलाउन साहित्यकार राजन मुकारुङ, कलाकार दयाहाङ राई, गायक राजेशपायल राई सक्रिय भएका थिए। कतिपय बैठकमा उनीहरूसमेत छलफलमा सहभागी भएका थिए।
यद्यपि उनीहरू पार्टीले बाहिरबाटै मध्य विन्दु पत्ता लागउन सहजीकरण गरेको सुदन निकट नेता राजन समिप बताउँछन्। ‘हर्क-सुदनबीच जनदबाबकै कारण एक ठाउँ आए। अब पनि सँगै अघि बढ्ने दबाब छ’, वार्ता समितिका सदस्य टीकाराम राई भन्छन्, ‘संस्कृति पार्टी हर्क मात्र हुँदा पनि दह्रो थियो। सुदनको प्रवेशपछि त झनै थर्कमान हुने आश छ।’ उनका अनुसार हर्क-सुदन एकताले अन्य शक्तिलाई पनि एकतामा आउन सहज भएको छ। सीके राउत, रेशम चौधरी, कुलमान घिसिङलाई समेत एकतामा आउन अब सहज भएको राईको तर्क छ।




