शिक्षक महासंघको अध्यक्ष बन्ने दौडमा यी तीन

हिमाल प्रेस ५ असोज २०८३ १३:३५ | Monday, September 21, 2026
882
SHARES
शिक्षक महासंघको अध्यक्ष बन्ने दौडमा यी तीन

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नयाँ अध्यक्षका लागि नेपाल शिक्षक संघ संघीय कार्यसमितिबाट तीन जनाको नाम चर्चामा आएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष नानुमाया पराजुली अनिवार्य अवकाशमा गएपछि नेतृत्वविहीन बनेको महासंघमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेको हो।

नेपाल शिक्षक संघ संघीय कार्यसमितिले महासंघको अध्यक्षका लागि पठाउने तीन जनामध्ये संघीय कार्यसमितिका उपाध्यक्ष सुन्दर पन्त, महासचिव ज्ञानेन्द्रबहादुर रावल र नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका उपाध्यक्ष प्रेमप्रसाद भट्टराईको नाम चर्चामा रहेको छ।

महासंघको अध्यक्षका लागि नेपाल शिक्षक संघ संघीय कार्यसमितिका अध्यक्ष सोमनाथ गिरीको नामसमेत चर्चामा थियो। तर गिरीले आफूलाई महासंघको अध्यक्ष बन्न आग्रह गरिए पनि आफू उक्त जिम्मेवारीमा नजाने बताएका छन्। उनी नेपाल शिक्षक संघमै रहेर काम गर्ने बताए।

नेपाल शिक्षक संघ संघीय कार्यसमितिको बैठक असोज ७ गते बस्दैछ। उक्त बैठकबाट महासंघको अध्यक्षका लागि पठाइने नामबारे निर्णय हुनेछ।

यसअघि महासंघका महासचिव तुलाबहादुर थापाले नेपाल शिक्षक संघ र नेपाल शिक्षक संगठनलाई क्रमशः अध्यक्ष र सहअध्यक्षका लागि नाम पठाउन आग्रह गरिएको बताएका थिए।

महासंघको सहअध्यक्ष नेपाल शिक्षक संगठनले पठाउँछ। संगठनले पनि सरकारसँग शिक्षक तथा कर्मचारीका पक्षमा प्रभावकारी रूपमा आवाज उठाउन सक्ने व्यक्तिलाई सहअध्यक्षका रूपमा पठाउने तयारी गरेको जनाएको छ।

सरकारले विद्यालय शिक्षा विधेयकलाई अघि बढाइरहेका बेला महासंघमा शिक्षक, कर्मचारी, विद्यार्थी तथा विद्यालयमैत्री ऐन निर्माणका लागि सरकारसँग प्रभावकारी संवाद र समन्वय गर्न सक्ने नेतृत्व आवश्यक रहेको शिक्षकहरूले बताएका छन्।

नयाँ नेतृत्वले विद्यालय शिक्षा विधेयकसहित शिक्षकका विभिन्न माग र मुद्दालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनीहरूको भनाइ छ।

प्रकाशित: ५ असोज २०८३ १३:३५ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast