काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाका दीर्घकालीन समस्या समाधान गर्न शिक्षा ऐन जारी गर्ने तयारी भइरहेको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले शिक्षा विधेयक तयारीका क्रममा सातै प्रदेशमा नीति संवाद सञ्चालन गरी सरोकारवालाबाट सुझाव संकलन गरिएको जानकारी दिए।
प्राप्त सुझावका आधारमा विद्यालय शिक्षाका दीर्घकालीन समस्या सम्बोधन गर्ने गरी शिक्षा ऐन जारी गर्ने तयारी भइरहेको उनले बताए।
मन्त्री पोखरेलका अनुसार चालु आर्थिक वर्षमा देशभरका विद्यालयको समग्र अवस्था म्यापिङ गरिनेछ। विद्यालयको अवस्था र आवश्यकताका आधारमा पूर्वाधार निर्माण तथा शिक्षक दरबन्दी मिलान गरिने उनले जानकारी दिए।
विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि कक्षा ५ सम्म निरन्तर मूल्यांकन प्रणाली लागू गरिएको पनि उनले बताए। विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलानको तयारी भइरहेको उनको भनाइ छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सम्बन्धी कानुन संशोधनको प्रक्रिया पनि अघि बढाइएको मन्त्री पोखरेलले जानकारी दिए।
उनले प्राविधिक शिक्षामा अभिभावक तथा विद्यार्थीको चासो न्यून हुँदा कतिपय शिक्षालयमा तोकिएको सिटअनुसार विद्यार्थी भर्ना हुन नसकेको बताए। प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्न नीतिगत तथा कानुनी सुधार अघि बढाउने सरकारको तयारी रहेको उनले बताए।
शिक्षक व्यवस्थापनका विषयमा स्थायी शिक्षक पदपूर्ति संघीय सरकारको जिम्मेवारीमा रहेको र करार नियुक्ति, सरुवा तथा दरबन्दी मिलानलगायतका काम स्थानीय तहको जिम्मेवारीमा रहेको मन्त्री पोखरेलले बताए।
विद्यालय शिक्षाको गुणस्तर सुधार र विद्यालयको वास्तविक आवश्यकता पहिचान गरी सोहीअनुसार पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्ने सरकारको योजना रहेको उनले बताए।


