काठमाडौँ- जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको बिहीबार परीक्षण गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा यो रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको छ।
सोही तयारी स्वरुप डब्ल्यु डी पी ४ डी ४०४०३ नम्बरको दुई इञ्जिन र सात बोगी भएको भारतीय विशेष रेल सेवाद्वारा भारतको अयोध्याबाट धनुषाको कुर्थासम्म परीक्षण गरिएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए।
‘प्रधानमन्त्री शाहको भारत भम्रणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौैँ,’ प्रबन्ध सञ्चालक पराजुलीले भने, ‘यही तयारीस्वरुप भारतीय रेल्वे कम्पनीका प्रतिनिधि तथा प्राविधिक सहितको टोलीले रेल सेवाको परीक्षण गरिएको छ।’
उनका अनुसार भारतको अयोध्याबाट बिहान ९ः ०० बजे जनकपुरधाम हुँदै कुर्थासम्म आइपुगेको विशेष परीक्षण रेल बिहान ११ः ०० बजे पुनः जनकपुरधाम आइपुगेको थियो।
परीक्षण टोलीसँग नेपाल रेल्वे कम्पनीका पदाधिकारीबीच अयोध्या–जनकपुरधाम नियमित विशेष रेल सेवा नियमित सञ्चालनको विषयमा छलफल भइरहेको प्रबन्ध सञ्चालक पराजुलीको भनाइ छ।
उद्घाटनको मिति तय नभए पनि प्रधानमन्त्रीको भारत भम्रणका क्रममा रेल सेवा उद्घाटन गर्ने तयारी भइरहेको प्रबन्ध सञ्चालक पराजुलीले जानकारी दिए। प्रधानमन्त्री शाहको यही महिना भारत भ्रमण गर्ने तयारी भइरहेको छ।
उनका अनुसार नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय तथा भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु र रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा पनि सैद्धान्तिक सहमति भएको छ।
केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेको थियो।
जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनाका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन थप सहज हुने विश्वास गरिएको छ।
हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ।



