अड्किएको विद्यालय शिक्षा विधेयकले समात्यो गति, सात सदस्यीय टोली गठन

हिमाल प्रेस ४ असोज २०८३ ११:०४ | Sunday, September 20, 2026
अड्किएको विद्यालय शिक्षा विधेयकले समात्यो गति, सात सदस्यीय टोली गठन

काठमाडौँ- विद्यालय शिक्षा विधेयकको नयाँ मस्यौदा तयार गर्ने प्रक्रिया तीव्र बनाउन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ।

मन्त्रालयले शिक्षामन्त्री सस्मित पाेखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाको संयोजकत्वमा कार्यदल गठन गरेको जनाएको छ। कार्यदलमा मन्त्रालयका पदाधिकारीसँगै शिक्षा क्षेत्रका विज्ञहरूलाई समेत समेटिएको छ।

मन्त्रालयका अनुसार विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित प्राविधिक कामलाई छिटो अघि बढाउने उद्देश्यले कार्यदल गठन गरिएको हो। कार्यदलले विद्यालय शिक्षाका विविध पक्ष, वर्तमान आवश्यकता र दीर्घकालीन सुधारलाई समेटेर नयाँ मस्यौदा तयार गर्ने जिम्मेवारी पाएको छ।

यसअघि तत्कालीन संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भए पनि प्रक्रिया निष्कर्षमा पुग्न सकेको थिएन।

यसपटक भने मन्त्रालयले पुरानो मस्यौदालाई आधार बनाउँदै समयानुकूल सुधार र सरोकारवालाका सुझाव समेटेर विधेयक तयार गर्ने तयारी गरेको छ।

विधेयक निर्माणअघि वास्तविक आवश्यकता पहिचान गर्न मन्त्रालयले सातै प्रदेशमा नीति संवाद सम्पन्न गरिसकेको छ। आगामी चरणमा अन्य सरोकारवालासँग पनि संवाद गर्दै थप सुझाव संकलन गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित: ४ असोज २०८३ ११:०४ | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast