शिक्षकका माग आर्थिक क्षमताअनुसार क्रमशः सम्बोधन गर्छौं : शिक्षामन्त्री पोखरेल

हिमाल प्रेस ५ असोज २०८३ १५:५८ | Monday, September 21, 2026
शिक्षकका माग आर्थिक क्षमताअनुसार क्रमशः सम्बोधन गर्छौं : शिक्षामन्त्री पोखरेल

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षकका माग राज्यको आर्थिक क्षमताअनुसार क्रमशः सम्बोधन गर्दै जाने बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले सरकारले प्रारम्भिक बालविकास शिक्षक, विद्यालय सहायक कर्मचारी र विद्यालय सहयोगी कर्मचारीको पारिश्रमिकमा थप ५ हजार रुपैयाँका दरले वृद्धि गरेको जानकारी दिए।

उनका अनुसार न्यून पारिश्रमिकमा काम गरिरहेका बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिक बढाइएको हो।

‘शिक्षकका माग राज्यको आर्थिक क्षमताअनुसार क्रमशः सम्बोधन गर्दै जानेछौं,’ मन्त्री पोखरेलले भने।

शिक्षक तथा विद्यालय कर्मचारीका विभिन्न माग सम्बोधन गर्ने क्रममा सरकारले उपलब्ध स्रोत र साधन तथा राज्यको आर्थिक क्षमतालाई आधार बनाउने उनको भनाइ थियो।

मन्त्री पोखरेलले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको बताए। चालु आर्थिक वर्षमा विद्यालयको समग्र अवस्था म्यापिङ गरी आवश्यकताका आधारमा शिक्षक दरबन्दी मिलान गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

स्थायी शिक्षक पदपूर्ति संघीय सरकारको जिम्मेवारीमा रहेको तथा करार नियुक्ति, सरुवा र दरबन्दी मिलानलगायत शिक्षक व्यवस्थापनका काम स्थानीय तहको जिम्मेवारीमा रहेको पनि मन्त्री पोखरेलले बताए।

विद्यालय शिक्षाको गुणस्तर सुधारसँगै शिक्षक तथा कर्मचारीका सेवासुविधासम्बन्धी विषयलाई पनि क्रमशः सम्बोधन गर्दै जाने सरकारको नीति रहेको उनले बताए।

प्रकाशित: ५ असोज २०८३ १५:५८ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast