काठमाडौँ- नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अहिले तत्काल आन्दोलनमा जाँदा गलत अर्थ लाग्ने र आन्दोलन गलत दिशातर्फ मोडिन सक्ने बताएका छन्।
शनिबार नेपाल शिक्षक संघको संघीय कार्यालय धुम्बाराही, काठमाडौँमा आयोजित नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
सुवेदीले समान सेवा सर्त र सुविधा भएका शिक्षक तथा शिक्षकसरह सेवा सुविधा पाउनुपर्ने विद्यालय कर्मचारीका मागलाई एउटै ढंगले उठाउनुपर्ने धारणा राखे।
‘परिस्थिति आँकलन नगरी अनुभव वा अनुमानका आधारमा निर्णय गरेर अगाडि बढ्यौं भने आफूतिर फर्काएर बन्दुक पड्काएजस्तो हुन्छ,’ उनले भने, ‘अहिले तत्काल आन्दोलन गर्यौं भने त्यसले गलत अर्थ र गलत दिशा लिन सक्छ।’
अध्यक्ष सुवेदीले हालै मात्र नयाँ सरकार गठन भएको सन्दर्भ उल्लेख गर्दै शिक्षक तथा कर्मचारी आन्दोलनलाई लिएर विभिन्न किसिमका आशंका र आरोपहरू रहेको बताए। ‘हामी राजनीतिमा संलग्न भयौं भन्ने आरोप छ, तर त्यो असत्य हो,’ उनले भने,‘यस्तो अवस्थामा हतारमा सडक आन्दोलनमा जाँदा थप जटिलता निम्तिन सक्छ।’
उनले तत्काल आन्दोलनभन्दा आफ्ना माग तथा मुद्दालाई स्पष्ट रूपमा सार्वजनिक गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। ‘अब हामीले शिक्षा ऐन कस्तो हुनुपर्छ भन्ने सार्वजनिक गर्ने तयारी गर्दैछौं। हामीले खोजेको ऐन यस्तो हो भनेर सरकारलाई जानकारी गराउँछौं र राज्यलाई चुनौती दिन्छौं,’ उनले भने।
कार्यक्रममा महासंघका महासचिव तुलाबहादुर थापा, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंसबहादुर शाही, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लक्षीराम ढकाल तथा संस्थागत विद्यालय शिक्षक युनियनका महासचिव भूपाल उप्रेती लगायतको उपस्थिति रहेको थियो।
बैठकमा सहभागी सम्पूर्ण अतिथि तथा राष्ट्रिय समितिका पदाधिकारी एवं सदस्यहरूप्रति परिषद्ले हार्दिक आभार व्यक्त गरेको छ।
परिषद्का अनुसार बैठकले समयानुकूल ९ वटा महत्वपूर्ण निर्णय पारित गरेको छ। ती निर्णयहरूको जानकारी प्रदेश तथा जिल्ला अध्यक्षहरूलाई महासचिवमार्फत गराइने जनाइएको छ।




