प्रधानाध्यापकमाथि सांसदको दुर्व्यवहारप्रति शिक्षक महासंघको आपत्ति

हिमाल प्रेस १३ वैशाख २०८३ १०:४९ | Sunday, April 26, 2026
प्रधानाध्यापकमाथि सांसदको दुर्व्यवहारप्रति शिक्षक महासंघको आपत्ति

काठमाडौँ- नेपाल शिक्षक महासंघ,राष्ट्रिय समितिले ओखलढुंगाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलद्वारा एक विद्यालयका प्रधानाध्यापकमाथि गरिएको कथित धम्कीपूर्ण तथा अपमानजनक व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ।

महासंघले जारी गरेको विज्ञप्तिअनुसार वैशाख १० गते खिजिदेम्बा गाउँपालिका-२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरमाथि सांसद पोखरेलले अशोभनीय व्यवहार गरेको आरोप लगाइएको छ।

महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा जारी विज्ञप्तिमा शिक्षा क्षेत्रमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप अस्वीकार्य हुने स्पष्ट पारिएको छ।

विज्ञप्तिमा हरेक पदाधिकारीको आफ्नै पदीय जिम्मेवारी र क्षेत्राधिकार हुने उल्लेख गर्दै त्यसलाई बेवास्ता गर्दै विद्यालय परिसरभित्र गरिएको यस्तो व्यवहारले शैक्षिक क्षेत्रको गरिमा, स्वतन्त्रता तथा जननिर्वाचित प्रतिनिधिको विश्वसनीयतामाथि नै आघात पुगेको ठहर गरिएको छ।

महासंघले उक्त घटनाको घोर निन्दा गर्दै शिक्षा क्षेत्रको मर्यादा र स्वायत्ततालाई सम्मान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन सबै सरोकारवालालाई सचेत रहन अपिल गरिएको छ।

प्रकाशित: १३ वैशाख २०८३ १०:४९ | Sunday, April 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast