काठमाडौँ- श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई आगामी एक साता संसद् बैठकमा अनुपस्थित हुने भएका छन्। सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद राईले विशेष कामको कारण देखाउँदै संसद् सचिवालयलाई आफ्नो अनुपस्थितिको जानकारी गराएका हुन् ।
उनले सभामुखको निजी सचिवालयमा दर्ता गराएको पत्रअनुसार, चैत २३ गतेदेखि ५ देखि ७ दिनसम्म प्रतिनिधिसभा र समितिका बैठकमा उपस्थित हुन नसक्ने उल्लेख गरिएको छ । पत्र अनुसार नै उनी सोमबारको बैठकमा उपस्थित भएनन्। प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१३ बमोजिम उनले आफ्नो अनुपस्थितिबारे सभामुखलाई पूर्वजानकारी गराएका हुन् । सांसद राईले आफ्नो दल श्रम संस्कृति संसदीय दल, सिंहदरबारलाई पनि यसको बोधार्थ दिएका छन् ।
पत्रमा गते ठिक भए पनि उनले साल भने दुई वर्ष अगाडि अर्थात् २०८० राखेका छन् । उनले स्वयम् सामाजिक सञ्जालमा सार्वजनिक गरेको छुट्टीको पत्रमा मिति गलत भएको देखिएको हो । उनले उक्त पत्र सार्वजनिक गर्दै मंगलबार बिहान फेसबुकमा लेखेका छन्, ‘धेरै फण्डा नगर्नु । अरू जस्तो होइन म । जय संसद।’ उनी निकट नेताहरूले साम्पाङले भुलेर मिति गलत लेखेको बताएका छन्।





