
काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्बाट प्रभावित घरपरिवारलाई राहत व्यवस्थापनमा कुनै कमी हुन नदिने जनाएको छ।
बुधबार सिंहदरबारमा राहत व्यवस्थापनसम्बन्धी बैठकमा सरोकारवाला निकायसँग छलफल गर्दै प्राधिकरणले बाढी प्रभावित इलाम र झापाका साथै अन्य जिल्लाहरुमा पनि प्रभावकारी ढंगले राहत व्यवस्थापन गरिने जनाएको हो।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले प्रशासन कार्यालयका साथै सबै निकायको समन्वयमा राहत व्यवस्थापनको कार्यलाई अघि बढाइने र कतै कमी तथा कतै दोहोरोपनको अवस्था आउन नदिने बताए।
सबैभन्दा बढी क्षति भएको इलामबाट कर्मचारी अभावका कारण अझै पनि विस्तृत बिवरण आउन नसकेकाले तत्कालै केही कर्मचारी गृह मन्त्रालयबाट पठाउने व्यवस्था गर्नुपर्ने उनले बताए।
भट्टले धेरै जिल्लामा स्थानीय सरकारले प्रभावकारी ढंगले काम गरिरहेकाले कुनै समस्या भए केन्द्रबाट आवश्यक सहयोगको तयारीमा रहेको जानकारी दिए।
प्राधिकरणले यसअघि नै प्रदेशलाई हस्तान्तरण गरिएका बिपद व्यवस्थापन सम्बन्धी गोदाम अहिले प्रयोगमा आएकाले उक्त गोदाममा कुनै कमी हुन नदिन आवश्यक समन्वय गरिने उनले उल्लेख गरे।
प्राधिकरणका अनुसार असोज १७ देखि २० गतेसम्म भएको वर्षापछि आएको बाढि पहिरोका कारण हालसम्म ५३ जनाको मृत्यु भएको छ। जसमध्ये पहिरोका कारण ४०, बाढीका कारण ११ र चट्याङबाट २ जनाको मृत्यु भएको छ। त्यस्ते बाढीमा ५ जना बेपत्ता भएका छन्।