काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा ऐनको माग गर्दै दोस्रो चरणको आन्दोलनको क्रममा नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा बुधबार धर्ना दिएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार यो आन्दोलन शिक्षक कर्मचारीहरूको अन्तिम र निर्णायक संघर्षको रुपमा अघि बढिरहेको छ।
‘हामी अहिले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको केन्द्रीय कार्यालयमा धर्नामा छौं। यसपछि हामी रिले अनशनमा जाने छौं र चैत २० गतेपछि देशभरका सबै शिक्षकहरू काठमाडौँमा जम्मा हुनेछन्,’ उनले भने, ‘यो आन्दोलन जनआन्दोलनभन्दा ठूलो र बलियो हुनेछ। हामी शिक्षक कर्मचारीहरू टाउकोमा कफन बाँधेर पनि आन्दोलनमा उत्रिने छौं।’
सुवेदीले आग्रह गरे, ‘शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समिति, संसद् र सरकारलाई विगतका सबै सहमतिलाई सम्बोधन गर्दै चाँडोभन्दा चाँडो अग्रगामी शिक्षा ऐन ल्याउन आग्रह गर्दछु। अन्यथा हामी एकजुट भएर आन्दोलनलाई अझ कडा पार्नेछौं।’
उनको भनाइ अनुसार, यो आन्दोलन ‘जितिन्छ कि बितिन्छ’ भन्ने मानसिकतासँग अघि बढिरहेको छ र बाँकी कुरा राज्यको हातमा रहेको छ।
महासंघले मंगलबार नेपाली कांग्रेसको मुख्यालय सानेपामा धर्ना दिएको थियो।

                                             
                                             
                                             
                                             
                                             
                                             

